कैलालीमा अपहरणको प्रहरीलाई झुठ्ठा सुचना दिने एक जना पक्राउ
कैलालीमा अपहरण परेको भनी प्रहरीलाई झुठ्ठा सुचना दिने एक जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालीका वडा नम्बर ५ घर भई वडा नम्बर १ स्थित आरम्भ फेन्सी पसलका सञ्चालक तथा सेती अञ्चल अस्पतालका खरिदार जगत बहादुर सिंहलाई प्रहरीले पक्राउ गरेको हो। आफु अपहरणमा परेको भनी भारतिय नम्बरबाट घरका सदस्यलाई फोन गरी फिरौतीमा सिंहले १५ लाख माग गरेका थिए।
घटना बारे खोज तलास गर्दा सिंहले गरेको नम्बरको लोकेसन भारतको पंजाबमा देखिएको थियो। सिंहलाई हिजो नै सम्पर्कमा ल्याएर सोधपुछ गर्दा अपहरण परेको भनी घरपरिवारका सदस्यलाई झुठ्ठा सुचना दिएको खुलेको हो। धनगढीका स्थानिय व्यापारीसंग ऋण कर्जा लिएको र सो ऋण कर्जा बापत अनादर चेक दिएको हुँदा अनादर चेकका कारण कारबाही हुने डर त्रासका कारण भारत पंजाबको लुधियाना गई अपहरणको नाटक गरेको सिंहले प्रहरी समक्ष खुलाएका छन्।
भारतिय नम्बरबाट घरमा फोन गरी आफु अपहरणमा परेको र अपहरण मुक्त हुन १०, १२ लाख आवश्यक परेकोले आफ्नो खातामा पठाई दिन भनि घर परिवारका सदस्यलाई फोन गरेको सिंहले स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरिक्षक आभुषण तिम्सिनाले जानकारी दिए।