निःशुल्क हुने काम गर्न यातायात कार्यालय धनगढीमा एक हजार मागियो
यातायात व्यवस्था कार्यालय धनगढीका कर्मचारीले निःशुल्क हुने कामका लागि पनि एक हजार मागेको भेटिएको छ। सेवाग्राहीबाट कर्मचारीहरुले निःशुल्क हुने कामका लागि पनि एक हजार मागरेको गुनासो गरेका हुन्। सेवाग्राहीहरुले रकम मागेको गुनासो गरेपछि कार्यालय प्रमुखले उनलाई रकम किन लिएको भन्दै हप्काएका थिए। तर सेवाग्राहीले भने कार्यालय प्रमुखले पनि कर्मचारीलाई नै सहयोग गरेको गुनासो गरेका छन्। स्मार्ट लाइसेन्सका लागि निवेदन दिएकाहरुले पुन स्मार्ट लाइसेन्सको निवेदनको प्रतिलिपि माग्दा एक हजार मागेको अरोप लागेको हो।
सुविधा सम्पन्न भवन, सेवा भने सुस्त
यातायात व्यवस्था कार्यालय धनगढी उप–महानगरपालिकाको बोराडाँडीबाट तारानगरमा सुविधा सम्पन्न भवनमा सरेको ७ महिना १४ दिन भएको छ। साविकको क्षेत्रिय पशुसेवा तालिम केन्द्रको भवनमा गत साउन ८ गते कार्यालय सारिएको थियो। कार्यालय सुविधा सम्पन्न भवनमा सरेपनि कार्यालयले प्रवाह गर्ने सेवा भने सुधार हुन सकेको छैन्।
पर्याप्त जग्गा छ तर यातायात व्यवस्था कार्यालयले आउने सेवाग्राहीको लागि पार्कीङको समेत व्यवस्था गर्न सकेको छैन्। स्मार्ट लाईसेन्सका लागि सेवाग्राहीले सबै भन्दा बढि यातायात कार्यालयमा फोन गर्ने गरेका छन्। तर कार्यालयले प्रयोग गर्ने टेलिफोन नम्बर पनि दर्ता नभएकाले सेवाग्राही हैरान भएका छन्। सेवाग्राहीले टेलीकमबाट मागेको नम्बर र कार्यालयले प्रयोग गर्दै आएको नम्बरमा फरक परेको बताएका छन्। ०९१–४११२१४ नम्बरको टेलिफोन यातायात व्यवस्था कार्यालयले प्रयोग गर्दै आएको छ। तर टेलिकमले ०९१–४१५०७० दिने गरेको छ। यो बिषयमा कार्यालय प्रमुख विशनसिंह थापाले पनि अनभिज्ञ रहेको बताए। नेपाल टेलिकमको धनगढी कार्यालयले भने नयाँ नम्बर अपडेट नभएकाले समस्या भएको हुन सक्ने बताए। धनगढी कार्यालयका प्रमुख सुरतबहादुर मल्लले यातायात व्यवस्था कार्यालयको टेलीफोन नम्बर सच्याउन लगाउने बताए।