सिटामोल अभाव
काठमाडौँः काठमाडौँ उपत्यकासहित मुलुकभर डेङ्गुको सङ्क्रमण बढेसँगै बजारमा सिटामोल अभाव भएको छ।
डेङ्गुविरुद्धको खास उपचार र औषधि नभएका र बिरामीले ज्वरो नियन्त्रणका लागि सिटामोल प्रयोग गर्नुपर्ने भएपछि सिटामोलको माग बढेको हो। डेङ्गुको सङ्क्रमणमा उच्च ज्वरो आउने भएकाले सिटामोल खान दिइन्छ।
औषधि उत्पादकहरूका अनुसार बजारमा सिटामोल अभावको मुख्य कारण भने विगतमा सरकारले निर्धारण गरेको यसको अधिकतम मूल्य नै हो। सरकारले सिटामोलको उपभोक्ता मूल्य प्रतिट्याब्लेट एक रुपियाँ निर्धारण गरेको छ। तर, उत्पादकका अनुसार यसको उत्पादन लागत नै एक रुपियाँ ४० पैसा पर्छ। सोही कारण सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडबाहेक अन्य निजी उत्पादकले सिटामोल उत्पादन गर्दैनन्।