धनगढीको ऐश्वर्य विद्या निकेतनमा प्रकाशन गृहले दिने लाखौँ रकम व्यक्तिको खल्तीमा
सार्वजनिक गुठी मार्फत सञ्चालन भईरहेको सुदूरपश्चिमको धरोहर भनिएको धनगढीको ऐश्वर्य विद्या निकेतनमा पाठ्यपुस्तक लगाए वापत प्रकाशन गृहले दिने लाखौँ रकम व्यक्तिको खल्तीमा गईरहेको आरोप लागेको छ। विद्यालयले आफ्नो लेखा परिक्षण र बार्षिक प्रगति प्रतिवेदनमा पनि प्रकाशन गृहले दिने रकमको लेखाजोखा लुकाएको छ।
गत शैक्षिक सत्रमा ऐश्वर्य विद्या निकेतनमा कुन प्रकाशन गृहको पाठ्यपुस्तक लगाउने भन्ने सन्दर्भमा सबै प्रकाशन गृहका प्रतिनिधि र विद्यालयविच भेला भयो। उक्त भेलाले सार्वजनिक रुपमै पाठ्यपुस्तक लगाए वापत कम्तिमा १५ प्रतिशत विद्यालयको खातामा रकम जम्मा गर्ने निर्णय लियो। हुन त उत्त परिपाटी अघिल्ला शैक्षिक सत्रमा पनि चल्दै आएको थियो तर गत शैक्षिक सत्रमा त प्रतिशत नै तोकियो।
जस्लाई विद्यालयले कमिसन नभएर दान सहयोग गरेको बताउँदै आएको छ। विद्यालयका सहायक प्राचार्य पिएन ओझाले पनि उक्त कुरा स्वीकार गरेका छन्। प्रकाशन गृहले दिने रकमले विद्यालयमा माटो भरान गर्ने, बाटो निर्माण गर्ने मन्दीर निर्माण गर्ने भनिएको थियो। तर उक्त रकम प्रकाशन गृहले दिए नदिएको उल्लेख नभएपछि आर्थिक अनियमितता आशंका बढिरहेको छ।तर सहायक प्राचार्य ओझाले भने उक्त रकम अन्य विद्यालयको जस्तै व्यक्तिको खल्तीमा नजाने, विद्यालयकै हितका लागि प्रयोग भईरहेको दावी गरे।
ऐश्वर्य विद्या निकेतनमा नर्सरीदेखि १० सम्म मात्रै झण्डै २२ सय विद्यार्थी छन्। उनीहरुले बार्षिक झण्डै ३३ लाख बढिका पुस्तकहरु खरिदै गर्दै आएका छन्। ३३ लाखको १५ प्रतिशत अर्थात झण्डै ५ लाख रकम विद्यालयको खातामा जान पर्ने हो। तर विद्यालयको प्रगती र लेखा परिक्षण प्रतिवेदनमा गत र चालु शैक्षिक सत्रमा एउटा प्रकाशन गृहले २ हजार ५ सय मात्रै रकम दिएको उल्लेख गरिएको छ। अस्मिता पब्लिकेशनले २ हजार ५ सय रुपैँया दिएको उल्लेख गरिएको छ तर अन्य कुनै पनि प्रकाशन गृहले रकम दिएको उल्लेख भएको छैन्। यद्यपी अस्मिता पब्लिकेशनका धनगढी प्रतिनिधिले भने एक लाख बढि रकम दिएको बताएका छन् तर विद्यालयले भने २ हजार ५ सय मात्रै देखाएको छ।
अहिले ऐश्वर्य विद्या निकेतनमा सबैभन्दा बढि रिडमोर प्रकाशन गृहको पुस्तक लगाईएको छ तर उक्त प्रकाशन गृहले दिएको रकम भने लुकाईएको छ। विद्यालयले चालु शैक्षिक सत्रमा युनाईटेड, संगम, क्याम्रिज, आईसीस, क्रेटीव, सनराईज, विद्यार्थी, एसिया, भुणी पुराणा, टाईम्स, ओसन लगायतका प्रकाशन गृहबाट पाठ्यपुस्तक लगाईएको छ। ति प्रकाशन गृहबाट पुस्तक लगाए वापत पाउने भनिएको १५ प्रतिशत लेखा परिक्षणको प्रतिवेदनमा समेत नदेखाईएपछि उक्त रकम व्यक्तिको खल्तीमा गएको आशंका गरिएको छ। विद्यालयका लेखा अधिकृत भरथरी चौधरीले विविध शिर्षकमा उक्त रकम राखिएको बताए। तर विद्यालयको प्रतिवेदनमा विविध शिर्षक नै राखिएको छैन्।
विगतमा रकम जम्मा गर्दै आएका एकता, विद्यार्थी, युनाइटेड जस्ता प्रकाशनलाई हटाउदै रिडमोर लगायतका नयाँ प्रकाशन गृह राखिएको छ तर उनीहरुले रकम दिए, नदिएको विषयमा विद्यालयको प्रतिवेदन बोलेको छैन्। हुन त विद्यालयले पाठ्यपुस्तक लगाए वापत कमिसन पनि माग्न नपाउने हो। प्रत्येक बर्ष प्रकाशन गृह र पाठ्यपुस्तक पनि फेर्न नपाउने हो। तर त्यो भईरहेको छ। यता विद्यालयका सह प्राचार्य ओझाले भने विषय शिक्षकहरुको सल्लाहमा पाठ्यपुस्तक लगाईने र हरेक बर्ष पाठ्यपुस्तक परिवर्तन नहुने दावी गरे।