सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुला बाढीपहिरोः बेपत्ता भएकाहरुको कसरी हुदैछ खोजी ? 

पानीको बहाउले समस्या

२०७९ भदौ २६, ०१:१२ खबर संवाददाता

धनगढीः शुक्रबार रातिदेखिको अविरल वर्षा र बाढीपहिरोका कारण दार्चुलाको महाकाली नगरपालिका र नौगाडा गाउँपालिकामा ठूलो मात्रामा जनधन क्षति भयो। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार बाढीपहिरोमा परेर अहिलेसम्म ५ जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन्।

महाकाली नदीमा पानीको बहाउ नघट्दा बेपत्ताहरूको खोजीमा समस्या भइरहेको प्रहरीले जनाएको छ। खोजतलासमा स्थानीय र सुरक्षाकर्मीहरु जुटेका छन्। अहिले नदी किनारतिर बेपत्ताहरूको खोजी भइरहेको बताइएको छ। बेपत्ताको खोजीसँगै बाढीपहिरो प्रभावितहरूलाई राहत वितरण, तटबन्ध निर्माण गर्ने काम भइरहेको छ। 

बाढीपहिरोमा परेर महाकाली नगरपालिका–२ मुल्ला मोडका ७७ वर्षीय नन्दराम बोहरा, नौगाडा गाउँपालिका–२ दल्लेखका मोहन पार्की, महाकाली नगरपालिका–३ डुङ्ग्रीकी मानमती कार्की, नौगाड–१ सल्लाकी जानकी ठगुन्ना र सोही ठाउँकी धनुली ठगुन्नाको मृत्यु भएको हो। यस्तै महाकाली–३ का धनसिंह कार्की, दिनेश कार्की, दीपक कार्की, महाकाली–२ की मानमती साहु, महाकाली–१ लास्कुकी मञ्जु लुहार, सोही ठाउँका दिनेश लुहार, डल्ली लुहार र साजन लुहार गरी १० जना बेपत्ता छन्। बाढीपहिरोमा परेर घाइते भएका ८ जनामध्ये ३ जना डिस्चार्ज भएका छन् भने बाँकीको दार्चुला अस्पतालमा उपचार भइरहेको छ।

बाढीपहिरोले महाकाली नगरपालिका र नौगाड गाउँपालिकाका ४२ घरमा पूर्ण र ९ वटामा आंशिक क्षति भएको छ। प्रहरीका अनुसार ४० घर जोखिममा छन्। यस्तै एउटा विद्यालय, विद्युत पावर हाउस, दुईवटा झोलुङ्गे पुल, मोटरेबल पुल, पार्किङ गरेर राखिएका ६ जिप, १र१ कार र ट्याक्टर, जेसीबी पनि बाढीले बगाएको छ।

कमेन्ट लोड गर्नुस