सुदूर नेपाललाई विश्वसँग जोड्दै

हिमाल आरोहणका लागि ५० मुलुकका ३६४ जनालाई अनुमति

२०७९ भदौ २५, ०९:५८ खबर संवाददाता

काठमाडौँ : यस वर्षको शरद ऋतुमा विभिन्न सातवटा हिमाल आरोहणका लागि ५० मुलुकका ३६४ जनाले अनुमति लिएका छन्।

पर्यटन विभागका अनुसार भदौ ८ गतेदेखि हिमाल आरोहण खुला गरिएको हो। शरद ऋतुका लागि हालसम्म सगरमाथा, धवलागिरि, हिमलुङ, मनास्लु, नुप्से, कुम्भकर्ण र सरिबुङका लागि आरोहण अनुमति जारी गरिएको छ।

विभागको तथ्याङ्कअनुसार बुधबारसम्म ३६ समूहका आरोहीले अनुमति पाएका छन्। अनुमति पाउनेमा २७८ पुरुष र ८६ जना महिला आरोही रहेका छन्। आरोहण अनुमति लिनेमा सबैभन्दा बढी अमेरिकी नागरिक छन्। विभागका अनुसार ३५ जना पुरुष र १२ जना महिला गरी कुल ४७ जना अमेरिकी आरोहीले अनुमति लिइसकेका छन्। 

त्यसैगरी धेरै अनुमति लिनेमा भारतबाट २७, इरानबाट २२, स्पेनबाट २०, अर्जेन्टिना १७, फ्रान्सबाट १७, रसियाबाट १५, बेलायतबाट १४, चीनबाट १२, इटालीबाट १२, जर्मनीबाट १२, यूएईबाट १०, पोल्यान्डबाट १०, मेक्सिकोबाट १० जना रहेका छन्। यस सिजनमा आरोहण अनुमतिबापत सरकारलाई चार करोड ३३ लाख १२ हजार ७२३ रुपियाँ राजस्व प्राप्त भएको छ।

विभागको पर्यटन शाखा अधिकृत विज्ञान कोइरालाले कोरोना सङ्क्रमणपछि आरोहणतर्फ पर्यटकको चासो बढेको बताउँदै यो वर्षको शरद ऋतुमा हिमाली पर्यटनमा राम्रो आर्कषण देखिएको उल्लेख गरे। पछिल्लो समय आरोहणको अनुमति लिनेको सङ्ख्याको आधारमा यो सिजनमा अघिल्लो सिजनमा भन्दा बढी पर्यटक हिमाल चढ्ने अनुमान गरिएको छ। 

उनले भने, “हिमाल आरोहणको अनुमति लिने आरोहीको पछिल्लो तथ्याङ्कले थलिएको पर्यटन क्षेत्रलाई राहत पुग्ने सङ्केत दिएको छ । आरोहीहरू आरोहण नभएका हिमालतर्फ पनि बढी आकर्षित हुन थालेका छन्।” 

विभागको तथ्याङ्कअनुसार गत वर्ष शरद ऋतुमा नेपालसहित ६७ देशका ८३ समूहले २८ हिमाल आरोेहणका लागि अनुमति लिएका थिए। गत वर्ष आरोहण अनुमति लिनेमा ५३२ विदेशी पुरुष र ११५ जना विदेशी महिला थिए। गत वर्ष हिमाल आरोहणबाट सरकारलाई चार करोड ६७ लाख आठ हजार ७२२ रुपियाँ राजस्व प्राप्त भएको थियो। 

त्यस्तैगरी सन् २०२० मा ११९ जनाले आरोहण अनुमती लिएका थिए। सो समयमा ११३ जना पुरुष र छ जना महिलाले विभिन्न हिमाल आरोहण गरेका थिए। कोरोना महामारीका कारण त्योबेला उल्लेख्य पर्यटक नेपाल आउन पाएका थिएनन्।

पर्यटन विभागका अनुसार सन् २०१९ मा १६५ समूहका एक हजार २१० जनाले आरोहण अनुमति लिएका थिए। सो समयमा ९५३ पुरुष र २५७ जना महिलाले आरोहणको अनुमति लिएका थिए। सन् २०१९ मा छ करोड ५७ लाख ८३ हजार ७१० रुपियाँ सरकारलाई राजस्व प्राप्त भएको थियो। विभागका अनुसार यो वर्ष सबैभन्दा बढी आकर्षण आठ हजार १६३ मिटर उचाइको मनास्लु हिमालमा देखिएको छ। यो सिजनमा आरोेहण अनुमति लिएका ३६ समूहमध्ये मनास्लु आरोहणमा मात्रै २९ समूहले अनुमति लिएका छन्।

मनास्लु आरोहण गर्न बुधबारसम्म २५५ पुरुष र ८२ जना महिलाले अनुमति लिएका छन्। मनास्लुबाट मात्रै यो सिजनमा तीन करोड ७२ लाख ३८ हजार ३३२ रुपियाँ राजस्व सङ्कलन भएको छ। सन् २०१९ मा मनास्लु आरोहणका लागि ५७० जनाले आरोहण अनुमति लिएका थिए।

१२ वर्षपछि आरोहण 
जारी शरद ऋतुमा सगरमाथा आरोहणका लागि एक समूहका पाँच जना आरोहीले आरोहण अनुमति लिएका छन्।

सगरमाथा आरोहणका लागि एक महिला र चार जना पुरुषले अनुमति लिएका हुन्। यसअघि सन् २०१२ यता कुनै आरोहीले यस सिजनमा सगरमाथा आरोहण गर्न अनुमति लिएका थिएनन्। विभागले वर्षमा मार्च, अप्रिल, मे महिनामा पर्ने वसन्त र सेप्टेम्बर, अक्टोबर र नोभेम्बर महिनामा पर्ने शरद ऋतुमा हिमाल आरोहण खुलाउने गरेको छ।
 

कमेन्ट लोड गर्नुस