बाजुराको बूढीगङ्गा र त्रिवेणीका अधिकांश बस्ती बाढीपहिरोको जोखिममा
बाजुराः बाजुराको बूढीगङ्गा र त्रिवेणी नगरपालिकाका अधिकांश बस्ती बाढीपहिरोको निकै जोखिममा छन्। गत साउनदेखि लगातार बर्सात्का कारण बूढीगङ्गा नगरपालिका वडा नं. १, २, ३, ४, ५ र त्रिवेणी नगरपालिकाका वडा नं. ८ र ९ का अधिकांश बस्ती बाढीपहिरोको जोखिममा परेका हुन्।
बूढीगङ्गा नगरपालिका वडा नं. २ का बजेढीका पदम विकले भने, “लामो समयदेखि गुइवनको पहिरोले गाउँ तलबाट जमिन काट्दै र माथिबाट पहिरोले छाप्दै गएपछि अहिले बजेढी, निमनी, बसालीलगायतका बस्ती जोखिममा परेका छन्।
गत वर्ष गुइवनको माथिबाट झरेको ठूलो पहिरोले गाउँ नजिकैको सबै जमिन पुरेको र अहिले बाढीले त्यो क्षेत्र बगाउन थालेपछि स्थानीय त्रसित बनेको विकले बताए। बूढीगङ्गा नगरपालिका–३ बसालीका काले नेपालीले भने, “बूढीगङ्गा नदीमा आएको बाढीले त्यसआसपासको सबै क्षेत्र बगाएर लिएपछि कुन बेला गाउँ नै बूढीगङ्गाले बगाउने हो कि भन्ने डरैडरमा वर्षाका रात काट्नुपरेको बताए।