सुदूर नेपाललाई विश्वसँग जोड्दै

अमेरिकामा पनि मनाइयो गौरा [फोटोसहित]

२०७९ भदौ २१, १२:२२ खबर संवाददाता

धनगढीः सुदूरपश्चिमको मौलिक संस्कृितसँग जोडिएको गौरा पर्वको प्रचारप्रसार अन्य राष्ट्रमा पनि हुन थालेको छ। सुदूरपहाडमा मनाइने गौरा त्यहाँका नागरिक बसाइ सरेसँगै विश्वभर विस्तार हुन लागेको हो। विशेषगरी सुदूरपश्चिमका नागरिक जहाँ बस्दै आएका छन्, सोही ठाउँमा गौरा पर्व मनाइने गरिएको छ। 

अमेरिकामा गौरा 
सुदूरपश्चिम समाज मेरिल्याण्ड, अमेरिका तथा नेपाली अमेरिकी सांस्कृतिक केन्द्रको सहआयोजनमा गौरा पर्व मनाइएको छ। मानसखण्ड क्षेत्रको रुपमा वर्णन गरिएको हालको सुदूरपश्चिम, मध्यपश्चिम, भारतको कुमाउँ तथा गढवाल क्षेत्रमा मनाईने गौरालाई अमेरिकामा पनि मनाइएको हो। २०२२ सेप्टेम्बर ४ का दिन मेरिल्याण्ड, भर्जिनिया तथा न्यूयोर्क राज्यमा बसोबास गर्ने सुदूरपश्चिमेलीहरु तथा मेरिल्याण्डका विभिन्न संघ–संस्थाहरुका प्रतिनिधिहरुको उपस्थितिमा गौरा मनाइएको हो। 

लोक गायक तथा नेपाल सरकारका अवैतनिक महावाणिज्यदूत प्रेम राजा महतको प्रमुख आतिथ्यता तथा एनआरएन एनसीसी अमेरिकाका अध्यक्ष बुद्धि सागर सुवेदी, वरिष्ट उपाध्यक्ष कृष्णजिवी पन्त, उपाध्यक्ष डिलु पराजुली, हिन्दु बुद्ध मन्दिरका संरक्षक डा. श्याम कार्की, बानाका अध्यक्ष सुवोध विलास पन्त लगायत अन्य विशिष्ट अतिथिहरुको उपस्थितिमा गौराको कार्यक्रम सम्पन्न भएको सुदूरपश्चिम नेपाली समाज मेरिल्याण्डका अध्यक्ष दमन विक्रम शाहले बताए। 

उक्त कार्यक्रममा सुदूरपश्चिमका डेउडा गायक शंकरसिंह बिष्ट तथा नेपाल सांगितिक प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ एवं डेउडा गायिका चाँदनी मल्लको उपस्थिति र प्रस्तुतिसमेत रहेको थियो। गौरा पर्वको विशेषता तथा महत्वका बारेमा साहित्यकार तिर्थ पाण्डेले कार्यपत्र पेश गरेको सुदूरपश्चिम नेपाली समाज मेरिल्याण्डका अध्यक्ष दमन विक्रम शाहले बताए। 

सोही अवसरमा गौरा माताको प्रतिमा प्रदर्शन तथा पूजाआजा गरि गौरा माताको स्वागत तथा अन्त्यमा विदाइ समेत गरिएको छ। यस कार्यक्रमलाई अझ विशेषरुपमा मनाउने र मेरिल्याण्ड राज्यलाई गौराको प्रमुख आकर्षण केन्द्र बनाउने दाबी सुदूरपश्चिम समाज मेरिल्याण्डको छ। 

कमेन्ट लोड गर्नुस