सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम प्रदेशमा सडकहरु निर्माण भईरहँदा पुल निर्माणका योजना अलपत्र

२०७५ फाल्गुन २२, १२:२० सीताराम ओझा

विभिन्न सडकहरु निर्माणको काम भईरहँदा त्यस क्षेत्रमा पर्ने पुल निर्माणको काम भने अलपत्र परेका छन् । महत्वाकांक्षी र राष्ट्रिय गौरवका आयोजनाहरुमा पनि निर्माण गर्नुपर्ने पुलका कामहरु अलपत्र परेका हुन् । सडकको निर्माणको काम सुरु हुँदा र कतिपय सम्पन्न हुँदा पनि पुलको कामले गति लिन सकेनन्। कतिपय सडकहरुको निर्माण भईरहँदा ती सडक खण्डमा पर्ने पुलहरुको डिजाईन स्टीमेट बन्ने प्रक्रिया सुरु हुँदा कतिपय पुलहरुको भने प्रारम्भीक सर्वेको काम समेत सुरु हुन सकेको छैन् । विभिन्न सडकहरु निर्माण गर्ने क्रममा त्यसका विभिन्न भागहरुमा पुल निर्माण गर्नुपर्ने हुन्छ । पुल निर्माण विना सडक निर्माणको त्यति अर्थ पनि हुँदैन् । विकास निर्माणका कामहरुमा ढिलासुस्ती हुने गरेको अवस्थामा पुल निर्माणको काम भने अझ निकै ढिलो गरी मात्रै हुने गरेको छ । सडक निर्माणको क्रममा सडक र पुलको छुट्टा छुट्टै निकायले डिजाईन स्टीमेटको काम गर्ने गरेका कारण सडक निर्माणका कामहरु भईरहँदा पनि पुल निर्माणले भने गति लिएको देखिदैन् । 

सुदुरपश्चिमको समृद्धिसँग जोडिएको मोहनापुल अत्तरिया ६ लेन सडक निर्माण अवधि सकिन तीन महिना बाँकी रहेका वेला ४० प्रतिशत भौतिक प्रगति भएको छ । सडक निर्माणको काम सुस्त गतिमा भएकै वेला सडक खण्डमा पर्ने पुल निर्माणको काम अझ अलपत्र जस्तै छ । सडक खण्डमा निर्माण गर्नुपर्ने तीन वटा पुलको सर्वेको काम मात्रै सकिएको छ । पुलको सर्वे गरेर प्रतिवेदन उत्तर दक्षिण व्यापारिक सडक मार्ग आयोजनालाई पठाईएको छ । उसले स्वीकृत दिएपछि मात्रै तीन वटा पुलको डिजाईन स्टीमेट तयार हुनेछ र त्यसपछि मात्रै टेण्डर आव्हान मार्फत पुल निर्माणको काम अगाडी बढ्नेछ । सडक निर्माणको काम भईरहँदा सडकका तीन वटा पुल निर्माणको काम अहिलेदेखि सुरु हुने हो कुनै टुङगो नलागेको  मोहनापुल अत्तरिया ६ लेन सडक आयोजनाका सव ईन्जिनियर दिनेश ओझाले जानकारी दिए ।

हुलाकी राजमार्ग अन्तर्गत कैलालीमा दुई किलोमिटर क्षेत्र बाहेक सवै स्थानमा कालोपत्रेको काम भईसकेको छ । कालोपत्रे हुन बाँकी रहेको छोटो दुरीमा पनि निर्माण कार्य अगाडी बढेका वेला हुलाकी राजमार्गमा पर्ने पुल निर्माणको काम लामो समयदेखि अलपत्र छन् । भारत सरकारले सडक कालोपत्रे गरेर नेपाल सरकारलाई हस्तान्तरण गरिएको लामो समय हुँदा पनि कैलाली खण्डमा पर्ने तीन वटा पुल निर्माण सकिएको छैन् । दुई पुल निर्माणको अन्तिम चरणमा पुगेका वेला एउटा पुल लामो समयदेखि निर्माणको चरणमा समेत जान नसकेको हुलाकी राजमार्ग आयोजनाका ईन्जिनियर पदम मडैले बताए ।  हुलाकी सडकको कञ्चनपुर खण्डमा पनि सडक निर्माणको काम भईरहँदा त्यसक्षेत्रमा पर्ने पुलहरुको सर्वेको काम समेत सुरु भएको छैन् । तीन वटा पुलहरुको सर्वेको काम सुरु हुँदा बाँकी पुलहरुको सर्वेको काम समेत सुरु भएको छैन् । सडक र पुल निर्माणको कामलाई अगाडी बढाउन छुट्टा छुट्टै विभाग हुने र त्यही अनुसार अगाडी बढाउने गरिएका कारण सडक र पुलको ताल फरक फरक पर्न गएको हो । सडक निर्माणभित्रै पुल निर्माणको काम भएमा सँगै अगाडी बढाउने सकिने हुलाकी राजमार्ग आयोजनाका ईन्जिनियर मडैले बताए । 

सडक डिभिजन कार्यालयले कैलालीमा विभिन्न स्थानहरुमा १२ वटा पुलहरु निर्माण गरिरहेको छ । ती पुलहरु निर्माण सुरु गरेको लामो समय हुँदा पनि समयमै निर्माण सम्पन्न हुन नसकेपछि पटक पटक म्यादन थप गरेर लम्बाईदै आईएको छ । सडकभन्दा पुल निर्माणमा वढी समय लाग्ने, दक्ष जनशक्ती चाहिने र उपकरण पनि वढी आवश्यक पर्ने भएकोले सडकभन्दा पुल निर्माणमा समय लाग्ने सडक डिभिजन कार्यालयका ईन्जिनियर महेन्द्र पन्तले बताए । 
 

सीताराम ओझा दिनेश खवरका संम्पादक हुन्। उनले खेलकुद र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस