टीकापुर घटनाका ४२ महिना: सर्वत्र फैसलाको पर्खाइ
थरुहट/थारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलनको क्रममा भएको टीकापुर घटना मुद्दामा बहस सकिएपछि आज फैसला हुँदै छ। घटनामा ज्यान गुमाएका ९ जनाका परिवारका सदस्यहरु, आफन्तहरु, सुरक्षा निकायहरु, अभियुक्त ५८ जनाका परिवारका सदस्यहरु, उनीहरुका आफन्तहरु पनि घटनाको फैसलाको पर्खाईमा छन्।
संगै हिसात्मक घटनाको बारेमा कस्तो फैसला होला भनेर अहिले देशभरी नै चाँसोका साथ हेरिन थालेको छ। घटना घटाएको अभियोगमा ५८ जना विरुद्ध डाँका चोरी, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दायर भएको छ। ५८ जनामध्ये सांसद रेशम चौधरी, थारु नेता लक्ष्मण थारु, लाहुराम चौधरी सहित २७ जना हाल पुर्पक्षको लागि थुनामा छन् भने बाँकी फरार छन्। उक्त घटनाको आरोपमा अभियुक्त ५८ मध्ये २७ जनाले झण्डै ४२ महिना पुरपक्षका लागि थुनामा रहेर बिताएका छन्। आज फैसला गर्ने तयारी भएसंगै त्यस्को सर्वत्र पर्खाई भईरहेको हो। अदालत श्रोतका अनुसार अहिले फैसलाको पूर्ण पाठ तयार हुँदै छ।
के हो टिकापुर घटना
२०७२ भदौ ७ मा कैलालीको टीकापुर नगरपालिका थरुहट समर्थक प्रदर्शनकारी र प्रहरी बिच दिउँसो झडप हुँदा प्रहरी बरिष्ठ उपरिक्षक सेती अञ्चलका प्रमुख एसएसपी लक्ष्मण न्यौपाने सहित नेपाल प्रहरीका ६ जना तथा सशस्त्रका २ र १ बालक सहित ८ जनाको मृत्यु भएको थियो। घटनाको मुख्य योजनाकार रहेको अभियोगमा रेशम चौधरीलाई आरोप लागाइएको थियो तर चौधरी कैलाली निर्वाचन क्षेत्र नम्वर १ बाट प्रतिनिधि सभामा विजयी हुँदै सासंदको सपथ खाईसकेका छन्।
प्रदर्शनकारीहरूले बरिष्ठ प्रहरी उपरिक्षक सहितको टोलीलाई खुर्पा, भाला, बञ्चरो, खुकुरी लगायतका घरेलु हतियारहरू प्रहार गरि हत्या गरेका थिए। तत्कालीन समयमा मन्त्री परिषदको निर्णय पछि टिकापुर क्षेत्रमा नेपाली सेना परिचालन भएको थियो। टिकापुर क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका थप सुरक्षाकर्मीहरू परिचालित गराइएका थिए। तनावग्रस्त क्षेत्र सुरक्षाकर्मीहरूको नियन्त्रणमा रहेको थियो। घटना भएको झण्डै एक महिना सम्म कैलाली जिल्लाका विभिन्न क्षेत्रमा कफ्र्यु र निषेधाज्ञा जारी गरिएको थियो।