सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा मनाइयो मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवस

२०७९ भदौ २०, ०४:४८ खबर संवाददाता

धनगढी: कञ्चनपुरमा मानव बेचबिखनविरुद्धको सोह्रौँ राष्ट्रिय दिवस मनाइएको छ। शान्ति पुनर्स्थापना गृहको आयोजना तथा महिला बेचबिखनविरुद्ध अभियान सञ्चालन गरिरहेका विभिन्न सामाजिक संस्थाहरूको ऐक्यबद्धतामा सोमबार उक्त दिवस मनाइएको हो।

मानव बेचबिखनबाट जोगाउन चाल्नुपर्ने कदम र सचेतना, बेचबिखनमा परेका मानवको उद्धार लगायतका विषयमा चेतनामूलक कार्यक्रम गरिएको बताइएको छ। यसै क्रममा कञ्चनपुरको बेलौरीमा पनि मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवस मनाइएको छ। बेलौरी बजार परिक्रमा गरी महाकाली माविको प्रांगणमा कोणसभा गरेर मनाइएको दिवस मनाइएको हो।

कोणसभामा मानव बेचबिखन तथा ओसारपसारका सन्दर्भमा चेतनामूलक वक्तव्य राखिएका थिए। उक्त सभामा मानव बेचबिखन तथा ओसारपसारको पछिल्लो अवस्था र शान्ति पुनर्स्थापना गृहले गरिरहेका क्रियाकलापका बारेमा जानकारी समेत गराइएको थियो। साँझ बेलौरी बजारस्थित भीमदत्त चोकमा दीप प्रज्वलन गर्ने कार्यक्रम समेत तय गरिएको छ।

सन् २००२ मा काठमाडौंमा सम्पन्न सार्कको एघारौँ शिखर सम्मेलनबाट पारित “महिला तथा बालबालिका बेचबिखनविरुद्धको सार्क महासन्धि, २००२” लाई वि.सं. २०६३ भदौ २० गतेका दिन तत्कालीन व्यवस्थापिका संसदबाट अनुमोदन भएपछि सोही दिनको स्मरणमा २०६४ सालदेखि प्रत्येक वर्ष भदौ २० गते यो दिवस मनाउने गरिएको छ।

कमेन्ट लोड गर्नुस