सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेशस्तरीय क्रिकेट छनौटको उपाधि बैतडीलाई 

२०७९ भदौ १९, ११:१४ खबर संवाददाता

बैतडी: नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय क्रिकेट छनौटको उपाधि बैतडीले जितेको छ। फाइनल खेलमा बैतडीले कञ्चनपुरलाई ३ विकेटले स्तब्ध पार्दै उपाधि हात पारेको हो।

कञ्चनपुरले दिएको ६३ रनको लक्ष्य बैतडीले ११ दशमलव ५ ओभरमा ७ विकेटको क्षतिमा पूरा गर्‍यो। जसमा कप्तान वसन्त खत्रीले अविजित २४ रन बनाउँदा खडक बोहराले १४ रन बनाए।

कञ्चनपुरका मिलन बोहराले २ विकेट लिए। त्यसअघि फाप्ला मैदानमा टस जित्दै पहिला ब्याटिङ गर्ने गरेको कञ्चनपुरले निर्धारित १२ ओभरको खेलमा ७ विकेटको क्षतिमा मात्र ६२ रन जोड्यो।

उसका कप्तान दिपेश चन्दले ३२ रन बनाउँदा राहुल चन्दले १५ रन जोडे। बैतडीका लागि गजेन्द्र बोहराले ४ र रामबहादुर चन्दले १ विकेट हात पारे।

छनौट प्रतियोगितामा सुदूरपश्चिमका ९ वटै जिल्लाको सहभागिता रहेको थियो।

कमेन्ट लोड गर्नुस