सुदूर नेपाललाई विश्वसँग जोड्दै

युवा संघ नेपालको महाकाली–मेची युवा जागरण अभियान, भुजेलाघाटमा नुहाएर सुरुवात

२०७९ भदौ १७, ०४:३७ खबर संवाददाता

धनगढी: नेकपा एकीकृत समाजवादी सम्बद्ध युवा संघ नेपालले महाकाली–मेची युवा जागरण अभियान सुरु गरेको छ। शुक्रबार कञ्चनपुरस्थित महाकाली नदीको भुजेलाघाटमा नुहाएर अभियानको सुरुवात भएको हो। 

संघले अभियान अगाडि बढाउनुअघि कञ्चनपुरस्थित गड्डाचौकी सीमा नाकामा नेपालको झण्डा गाडेको थियो।  खर्चिलो तथा तडकभडकयुक्त निर्वाचन प्रणालीमा सुधार आउनुपर्ने माग राख्दै संघले यो अभियान अगाडि सारेको युवा संघका अध्यक्ष नरेश शाहीले बताए। नेपालमा व्यापक भ्रष्टाचार रहेको, यसको मुख्य कारण भड्किलो, खर्चिलो चुनाव रहेको उनको भनाइ थियो।  जागरण यात्रा भदौ २३ गते झापाको मेची नदीमा नुहाएर टुंगिनेछ ।  

अभियानको सरुवातपछि कञ्चनपुर बजारमा आयोजित कोण सभालाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा पार्टीका अर्थ, योजना एवं मोर्चा संगठन विभाग प्रमुख डा.विजय पौडेलले व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन नहुनुको मुख्य कारण खर्चिलो निर्वाचन प्रणाली भएको बताए। संविधान जोगाउनका लागि गठबन्धन सरकारमा बसेको, भ्रष्टाचारीको संरक्षण गर्न नभएको भन्दै भ्रष्टाचारको जरो उखेल्ने संकल्प व्यक्त गरे। 

पार्टीकी सुदूरपश्चिम इन्चार्ज गरिमा शाहले आगामी मंसिरमा हुने निर्वाचनमा पैसाको आडमा गलत व्यक्ति सत्तामा पुग्न सक्ने खतरा रहेको भन्दै युवाहरु मार्फत् खबरदारीका लागि यो अभियान सञ्चालन गरिएको बताइन् । 
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले सुशासन, भ्रष्टाचारमुक्त मुलुकको निर्माणका लागि नेकपा (एकीकृत समाजवादी) कटिबद्ध रहेको बताए। 

अभियानअन्तर्ग कैलालीको अत्तरियामा आयोजित कोणसभामा पार्टीका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश अध्यक्ष हर्क सिंहले नेपालको समाजवादी आन्दोलनको सफलताको जिम्मेवारी नेकपा एकीकृत समाजवादीको काँधमा आएको बताए। 

पार्टीका सुदूरपश्चिम प्रदेश उपसचिव दीर्घ सोडारीले प्रदेशका केही मुसा र अवसरवादीहरुलाई केपी ओलीले आफ्नो पार्टीमा लगे पनि तिनलाई छोडेर न्याय र सत्यको पक्षमा लाग्ने नेपालको लोकतान्त्रिक आन्दोलनका सच्चा सिपाहीहरुले एकीकृत समाजवादीमा संगठित भएर अगाडि बढिरहने बताए। 

युवा संघ नेपालका अध्यक्ष नरेश शाहीले राज्यको नीति परिवर्तन गर्न सफल भए पनि नियती परिवर्तन गर्न नसकिएको भन्दै देशमा देखापरेका समस्या समाधानको लागी युवा संघले काम गर्ने बताए। 

नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य प्रकाश रावलले राजनीतिमा हुने गरेका विभिन्न अभियान तथा आन्दोलनहरुलाई उत्कर्षमा पु¥याउन युवाहरुको महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन् भन्ने सन्देश दिन यो जागरण यात्रा महत्वपूर्ण रहेको बताए। 

अभियानलाई शुक्रबार नै कर्णाली चिसापानीबाट सुदूरपश्चिम प्रदेशबाट विदा गरिएको छ।

कमेन्ट लोड गर्नुस