बैतडीमा ३ वटा मेडिकल सिल
धनगढीः बैतडीमा ३ वटा मेडिकल सिल गरिएको छ। बिहीबार मेडिकल अनुगमनका क्रममा नियमविपरीत सञ्चालनमा रहेका मेडिकलहरु भेटिएकोले जिल्ला प्रशासन कार्यालयले सिल गरेको हो।
४ वटा मेडिकल अनुगमनको क्रममा ३ वटा मेडिकलले सञ्चालन गर्न नपाउने क्लिनक सेन्टर पनि सञ्चालन गरिएकोमा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए। मुस्याचौरस्थित प्रकाश मेडिकल हल र जयदुर्गे मेडिकल हलको क्लिनिक बन्द गरिएको हो। देहिमाण्डौंस्थित निङ्गलाशैनी फार्मेसी एक जनाको नाममा दर्ता भएर अर्कैले सञ्चालन गरेको भेटिएकोले सिल गरिएको प्रशासनले जनाएको छ।
अनुगमनको क्रममा मेडिकलहरुले बेच्न नपाइने औषधिहरु पनि बेच्ने गरेको भेटिएको प्रमुख जिल्ला अधिकारी पन्थीले बताए। अहेव बस्ने मेडिकलहरुले क्लिनिक सञ्चालन गरेर बेडहरु राखेको भेटिएकोले बन्द गरिएको छ। उनले भने, ‘भिडियो एक्सरे पनि मेडिकलमा राखेको भेटिएको थियो ल्याबका कर्मचारी नभएर ल्याब पनि सञ्चालन गरेका थिए। मेडिकलमा औषधि पनि फार्मेसी नपढेकाले बेचेको भेटियो। नियम विपरीत खोलिएका क्लिनिक, ल्याब, एक्सरे, फार्मेसीहरु बन्द गरेका छौं।’