बैतडीमा सेनाको रक्तदानले १७ जना सुत्केरीको ज्यान जोगियो
बैतडीः बैतडी अस्पतालमा शल्यक्रियासहितको प्रसूति सेवा भए पनि रक्त सञ्चार केन्द्र (ब्लड बैङ्क) नहुँदा अत्यधिक रक्तस्राव भएका १७ जना सुत्केरीलाई नेपाली सेनाका जवानले रगत दिएर ज्यान बचाएका छन्।
बैतडीस्थित नेपाली सेनाको हनुमानध्वज गुल्मले गएको तीन वर्षको अवधिमा १७ जना सुत्केरीको ज्यान जोगाएको हो। मङ्गलवार दशरथचन्द नगरपालिका –४, जर्ग गाउँका २१ वर्षीया सुत्केरी महिलाको शल्यक्रियापछि अत्यधिक रक्तस्राव हुँदा अस्पतालमा रगत उपलब्ध नभएपछि नेपाली सेनाका बन्दोबस्ती कार्य सिपाही लोकेन्द्र कार्कीले रगत दिनुभएपछि सुत्केरीको ज्यान जोगिएको छ।
रगत दिएर बाँचेका सुत्केरी आमा र बच्चाको अनुहारमा देखिने खुसीले गौरवको अनुभूति भएको रक्तदान गर्ने नेपाली सेनाका लोकेन्द्र कार्कीले बताए। बैतडीस्थित नेपाली सेनाको हनुमानध्वज गुल्मले गएको तीन वर्षमा १७ जना सुत्केरी महिलालाई रगत दिएर ज्यान जोगाएको गुल्मपति सेनानी गोविन्द थापाले जानकारी दिए।
उनले भने, “रक्तदान, जीवन दान भन्ने नारा भए पनि बैतडीमा ब्लड बैङ्क छैन। आपत् परेको बेलामा अस्पताल र सुत्केरीका आफन्तले सेनासँग सहयोग माग्दै आउनुभएको छ।” देश र जनताको सेवा गरेर मानवीय धर्म निर्वाह गर्नुपर्ने दायित्व सम्झेर नेपाली सेनाले रगत सहयोग गर्दै आएको बताएको छ। -गोरखापत्र अनलाइन