सुदूर नेपाललाई विश्वसँग जोड्दै

विचरा भोले

२०७५ फाल्गुन २०, ०४:२९

समय हिजो मध्यरात पछि हुँदो हो मलाई भेट्न भोले आए । उनी अघिल्ला बर्षझै उत्साहित थिएनन् । उनको मुखाकृति पुर्ण रुपमा निरास, उदास र मलिन थियो ! मैले अनुमान लगाए बिचरा नटराज हुन् नाच्दा–नाँच्दै थाके होलान वा पारु, लम्बोदर वा कार्तिकेय मध्य कुनैसंग घरझगडा परेर मुड अफ भएको होला ? मैले निरासाका सम्भावित दुबै कारण राखे । मेरो कुरा सुनेर केहिबेर चुपचाप टोलाएका उनले लामो सुस्केरा तान्दै भने ,“ मेरो चिन्ताकाकारण तिमीले अनुमान गरेका दुबै कुरा होइनन् !” अब अचम्ममा पर्ने पालो मेरो थियो ? मैले दुवै हात जोडेर भक्तीभावका साथ नतमस्तक हुँदै प्रतिप्रश्न गरे, “त्यसो भए हजुरको निरासाको मूलकारण के हो त भोलेनाथ ?” उनले पल्याक पुलुक गर्दै दायाँ–बाँया हेरे अनि पर–परसम्म पनि कोही नदेखेपछि मेरो कानमा बिस्तारै साउति मारे ! उत्तर सुनेर छक्क पर्नुपर्ने पालो अब मेरो थियो । केहि वर्ष पहिलेसम्म नेपाल जस्तो हिन्दु बाहुल्य देशमा नेताहरुले धर्म निरपेक्षेताको कुरा गर्नु उनलाई हावादारी कुरा लागेको रैछ ! तर जब उनले सपनामा पनि नचिताएको कुरा संबिधानमा लेखियो उनी त्यस दिनदेखि निरास मात्र होइन डिप्रेसनका परेका रैछन् । उनलाई आफ्ना समस्थ भक्तगण बिशेष गरि कमल थापा प्रति ठूलो भरोसा थियो तर जाबो हिन्दु अधिराज्यका लागि एकबारको जुनीमा कहिले काँही मात्र भोग गर्न पाईने मन्त्री पदलाई कुन चैँ मुर्ख नेताले दाउँमा राखोस् ? एन मौकामा त्यो मुर्खता कमलले पनि गरेनन् । त्यो अस्तिको कुरो थियो । 

मन्त्री हुँदा चुपचाप लागेर बस्ने कमल हिजोआज हिन्दु राष्ट्रका लागि सडकमा उफ्रिएको भोलेनाथलाई पटक्कै मन परेको रहेन छ । पहिले आफ्नो पक्का भक्त सम्झेका कमललाई भोलेनाथले हिजोआज मुख अमिलो पारेर नाथे अवसरवादी भन्न थालेका छन् ।  मैले कैलाशपतिको पहिलो चिन्तामा गहिरो सहानुभुति राखेर फेरि प्रश्न गरे, “ प्रभो !दःुख, सन्तापको अर्को पनि कुनै कारण छ कि ?” उनले पहिलेको झै दाँया–बाँया पल्याकपुलुक हरेर अघिको भन्दा पनि झन बिस्तारै मेरो कानमा साउती मारे । यति भनिरहँदा उनका गाला र कनपोरा लाजले रातापिरा भएका थिए । उनलाई सबैभन्दा ठूलो सकस चाँहि आफ्नै भक्तहरुको बेसर्मीसंग भएको रहेछ । उनले प्रतिप्रश्न गरे, “आफ्नो लाज छोपेर हिड्ने यी नाथेहरुलाई मेरो गुप्ताङ् सार्बजनिक ठाउँमा राखेर प्रदर्शन गर्ने अधिकार कस्ले दियो ? सर्बाङ्ग सुम्पेको छुँ तर पनि मेरो गुप्ताङ्गप्रति मात्रै यिनीहरुको यत्रो मोह किन ? ” यसै बिषयलाई लिएर एक पटक होइन अनेक पटक पारुसंग खटपट परिरहने हुँदा उनी झनै खिन्न थिए !

तिजका बर्तालु महिलालाई त झन् पारुदेखि सहनन् रे ? कैलाशको अदालतमा कोमल ओलीको नाममा दर्जन जति मुद्दाहरु त बिचाराधीन नै छन् अरे ? “पोइल जान पाम शिव, पोइल जान पाम । ” यस्तो नचाहिने कुरा पनि गर्न मिल्छ ? के म लमी हो ? के म दलाल हो ? पोइला जाने मन भए एउटा नाठो खोजेर हिड्न सकिन्न र भन्या ? अरुको बेइज्जत गर्न चाहिने नचाहिने हत्कण्डा गरेर हिड्ने । फेरि, पोइल जान पाम भनेर निवेदन चाँहि मलाई हाल्ने अनि फेरि अवसर पाउँदा चाँहि मलाई चटक्क भूलेर मेरा बिरोधीको खेमाबाट राष्ट्रिय सभामा उक्लने । यो कोमल त झन कमल भन्दा पनि मौका परस्त रै छै ।

“शिवरात्रीको दिन पनि तिजको कुरो किन संभो ? ”  मैले पहिलेकै भावभंगिमा आफ्नो अर्को प्रश्न राखे । “मनको बेदना पोख्न पनि कुनै दिन, बार, साँइत चाँहिन्छ र लाटा?” उनले रुन्चे आवाजमा उल्टै प्रतिप्रश्न गरे । भोलेनाथलाई नेपालीहरु प्रति रतिभर पनि भरोसा छैन रे ? जसका अनुहार हेरे पनि कमल अनि कोमलको झल्को देखिन्छ रे । नेपालीहरुको एक हातले ताली बजाउन खोज्ने शैली देखेर बुढा वाक्क भैसकेका रहेछन् । आफुलाई आपत पर्दा भोले–भोले अनि भोलेलाई आपत पर्दा चाँहि कुलेलम ठोक्ने नेपालीको प्रवृति देखेर दिक्क भएका भोलेले आफ्ना रुन्चे आँखा नाग तर्फ पसारे । मालिकको हालत देखेर अघिदेखि नै भाबुक बनेको नागले चाहेर पनि आँखा जुधाउन सकेन र आकास तर्फ हेरेर सुक्सुकाउन थाल्यो । “चिन्ता नगर बाबै ? अब मेरो नेपालमा डुब्न लागेको डुङ्गायी नेपाली नाथेहरुले होइन कि सिमापारिका मेरा मित्रहरुले पार लगाउने छन् ।” नागको गाला सुम्सुम्याउँदै रुन्चे स्वरमा भोले बोले ।  “कसले ? कसरी प्रभु ? ” नागले उत्साहित हुँदै सोध्यो ।

“उताका मोदी र योगी मेरा अनन्य भक्त हुन् । मेरो अति सलिन उनीहरु बद्रिनाथ, केदारनाथ, पशुपति नाथ आउ जाउ गरिरहन्छन् । मैले उनीहरुलाई एक पटक होइन अनेक पटक उद्धार गरेको छुँ । मलाई पर्दा एक पटकलाई कसो उद्धार नगर्लान् र ? १९ आइसक्यो । १९ मा उनीहरुको डुङ्गापार लगाउन अयोद्यामा राम र पाकिस्तानमा ईमरानलाई भन्देको छु । नेपालका केपी, प्रचण्ड, माधव, झलनाथ, शेरबहादुर अनि बाबुरामहरु मोदीको बचन काट्न सक्दैनन् भन्ने मेरो बुझाइ छ । नुन उतैको ! सुन उतैको !! नुन ख्वाएर गुन लगाउने मालिकलाई बैगुन गर्न सक्ने ल्यागत यीनाथेहरुसंग छैन भन्ने मेरो बुझाई छ ।” बडो आत्मविश्वासका साथ भोलेले लामो प्रवचन दिए ।  

भोलेको कुरा सुनेर नागको मुहार थोरै भएपनि उज्यालियो । उसले सन्तोषको लामो सुस्केरा लियो । भोलेलाई नेपालीहरु अनि नेपालको संबिधान र कानुन प्रति गुनासो त थियो नै । यस पटक त्यसभन्दा बढी गुनासो काठमाण्डौ प्रहरी बृतका प्रहरी प्रमुखसंग रै छ । “यस पटक नागा साधुलाई जथाभाबी गर्न दिइन्न रे ? ” यो के भनेको ? मेरो लिङ्गलाई काठमाण्डौंका दोवाटो चौवाटोमा खुलम खुल्ला प्रदर्शनीमा राख्नेहरुलाई नागाको निर्दोष लिङ्ग छोप्नुपर्छ भन्ने नैतिकता कताबाट आयो ? विचराहरुको नामै नागा, हेर्ने मन छैन भने नहेरे भैगो नी । जाँदा–जाँदै उनले दःुखका साथ यतिसम्म भन्न भ्याए, “यस पटकदेखि पशुपतिमा जोगी सन्यासी बाहेक अरु सबैलाई गाँजा चरेस पनि प्रतिबन्ध हुँदैछ रै भन्ने सुन्छु ? अब सायद नेपाल आउँदिन होला ?”

ह्याड.ओभर भएको अनुहार लिएर भोलेले पशुपतितर्फ हेरे । भक्तहरूको भिड पोर परारको झै बाक्लो थिएन । नागाहरू पनि उतै काँशी बानारसतिर कतै हराए जस्तो लाग्यो उनलाई ! लामो सुस्केरा लिएर उनले भने, “ कतै देखिदैनन् त ?” पशुपतिमा अभक्त बाँदरहरूको अचाक्ली भिड बढेकोमा चाँही उनलाई ताजुब लाग्यो ! नाथे फलका लागि लुछाचुँडी गर्दा लिङ्गमा चिथोरिएर बनेको घाउ अझै पुर्ण रूपमा निको भैसकेको छैन । धन्न् रेबिज लागेन र मात्र ! रुँलारुँलाझै गरेर उनले उभो कैलाशतर्फ हेरे !! ....“बाबा उज्यालो भयो “भनेर छोराले जोरले झक्झक्याए पछि आँखा मिच्दै म जाग्दा भोलेबाबा गैसकेका रैछन् । नभन्दै आज शिवरात्री पो रहेछ ?

कमेन्ट लोड गर्नुस