सुदूर नेपाललाई विश्वसँग जोड्दै

एक हप्तापछि उम्मेदवारी घोषणा गर्दै पुष्करनाथ !

क्षेत्र नम्बर-५ मा चारजना भिड्ने

२०७९ भदौ १३, ०६:१२ टेकसिंह धामी

धनगढीः नेपाली काँग्रेसको कारबाहीमा परेका नेता पुष्करनाथ ओझाले एक हप्तापछि कैलाली क्षेत्र नम्बर ५ बाट उम्मेदवारी घोषणा गर्ने भएका छन्। पूर्व मन्त्रीसमेत रहेका ओझाले क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभाको निर्वाचन लड्न उम्मेदवारी घोषणा गर्ने भएका हुन्।

उनी निकटस्थ स्रोतका अनुसार ओझाले चुनाव केन्द्रित छलफल तथा आन्तरिक तयारी गरिरहेका छन्। ‘उहाँ (पुष्करनाथ ओझा) काठमाडौं जानुभएको थियो। त्यहाँबाट उहाँ धनगढी आइसक्नु भएको छ’, स्रोतले दिनेशखबरसँग भन्यो, ‘अब एक हप्ता पर्खने उहाँको तयारी छ। काँग्रेसले कारबाही फुकुवा गर्नेबारे केही निर्णय गर्ला। यदि पार्टीले उहाँको पक्षमा निर्णय नगरे स्वतन्त्र उम्मेदवारी घोषणा गर्नुहुन्छ।’

ओझामाथि २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा काँग्रेस नेतृ आरजु राणा देउवालाई हराउन भूमिका खेलको भन्दै कारबाही गरिएको थियो। तर, उनीमाथिको कारबाही अहिलेसम्म फुकुवा भएको छैन। २०७० सालको दोस्रो संविधान सभा उपनिर्वाचनमा विजयी भएका ओझा २०७४ सालको निर्वाचनमा कैलाली ५ बाट आरजुलाई टिकट दिएपछि रुष्ट भएका थिए।

पाँच वर्षदेखि उनी राजनीतिमा सक्रिय थिएनन्। तर, चुनाव घोषणा भएसँगै उनले राजनीतिक गतिविधि बढाएका छन्।

चार जनाबीच भिडन्त
कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को प्रतिनिधि सभाको निर्वाचनमा चार जनाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। कैलाली काँग्रेसका सचिव नृप सुनारका अनुसार काँग्रेसबाट प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राणा देउवा नै यसपटक पनि उम्मेदवार रहने फाइनल भएको छ। गत निर्वाचनमा नेकपा एमालेका नारदमुनी रानासँग पराजित भएकी आरजुले पुनः यही क्षेत्रबाट चुनाव लड्ने पक्कापक्की भएको हो। एमालेबाट पनि नारदमुनी राना नै चुनाव लड्ने भएका छन्। एमाले कैलालीका इन्चार्जसमेत रहेका उनले चुनावी तयारी समेत थालेको बताएका छन्।

यस्तै रेशम चौधरीको पार्टी नागरिक उन्मुक्तिबाट लक्ष्मण थारु चुनाव लड्ने चर्चा चलेको छ। यसरी नेपाली काँग्रेसबाट आरजु, एमालेबाट नारदमुनी, स्वतन्त्रबाट पुष्करनाथ र नागरिक उन्मुक्तिबाट लक्ष्मणले चुनाव लडेपछि चारै जनाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। तर, धनगढी उपमहानगरपालिकामा स्वतन्त्रबाट निर्वाचित मेयर गोपाल हमालको भूमिकाले पनि प्रतिनिधि सभा सदस्यको निर्वाचनमा प्रभाव पार्ने राजनीतिक विश्लेषकहरु बताउँछन्।

टेकसिंह धामी, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस