सामूहिक बलात्कारमा संलग्नलाई रिहा गरेको विरोधमा भारतभर प्रदर्शन
एजेन्सी: सामूहिक बलात्कारको आरोपमा आजीवन काराबासमा परेका ११ जनालाई रिहा गर्ने निर्णयको विरोधमा भारतभर विरोध प्रदर्शन भएको छ।
राजनीतिक शक्तिको आडमा दोषीलाई रिहा गरिएको भन्दै भारतका विभिन्न सहरमा प्रदर्शन भइरहेको छ। सन् २००२ मा गुजरातमा मुस्लिम समुदायकी बिलकिस बानोमाथि सामूहिक बलात्कार भएको थियो भने त्यतिबेला भएको धार्मिक दङ्गामा उनका परिवारका १४ जनाको ज्यान गएको थियो।
पाँच महिनाकी गर्भवती रहेकी बानोलाई बलात्कार गरेको आरोपमा ११ जनालाई सन् २००८ मा जन्मकैदको सजाय सुनाइएको थियो। तर, १५ वर्षको जेल सजाय भोगका उनीहरुलाई अहिले स्वतन्त्रता दिवसको अवसरमा रिहा गरेपछि विरोध प्रदर्शन सुरु भएको हो।
प्रदर्शनकारीहरुले बलात्कारीको रिहाइ स्वीकार्य नरहेको बताएका छन। उनीहरुले यस्ता घटनामा संलग्नको रिहाइले महिलाको सुरक्षामा असर पार्ने बताएका छन्। बानोलाई बलात्कार गर्नेहरु रिहा भएपछि उनको गाउँ रणधीकपुरबाट झण्डै पाँच सय मुसलमान विस्थापित भएका बीबीसी हिन्दीले जनाएको छ।