सुदूर नेपाललाई विश्वसँग जोड्दै

डा. गोविन्द केसी फेरि सत्याग्रह बस्ने

२०७९ भदौ १२, ०४:१९ खबर संवाददाता

काठमाडौं: स्वास्थ्य सेवा सुधारको माग गर्दै लामो समयदेखि सरकारलाई दबाब दिइरहेका डा. गोविन्द केसीले सरकारसँग यसअघि गरिएका सहमति, सम्झौता पूरा नभए २७ भदौदेखि सत्याग्रह सुरु गर्ने बताएका छन्। आइतबार आयोजित पत्रकार सम्मेलन डा. केसीले मेडिकल शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधार, सुशासन र न्यायका लागि संघर्ष गरि आए पनि सरकारले बेवास्ता गरेको बताए। 

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले माफियाहरूको स्वार्थमा कानुन बनाउनेदेखि नियामक निकायका पदाधिकारीहरूलाई धम्क्याउने तथा भ्रष्ट र ठगीमा मुछिएका व्यक्तिहरूलाई दलीय वफादारिका आधारमा पदाधिकारीमा नियुक्ति दिएको उनको आरोप छ।

शेरबहादुर देउवा नेतृत्वको सरकार बनेपछि केही सुधार होला भन्ने अपेक्षा गरे पनि वर्तमान सरकारले उल्टै स्वास्थ्य र मेडिकल शिक्षा क्षेत्रलाई थप अस्तव्यस्त पारेको डा. केसीले बताए।

सरकारी पक्षले पूर्व सहमति कार्यान्वयनका लागि केही समय मागेकाले सत्याग्रहको कार्यक्रम दुई साता सारे उनले बताए। यसबीच ती सबै काम नभए २७ भदौदेखि सत्याग्रह शुरु गर्ने डा. केसीको भनाइ।
 

कमेन्ट लोड गर्नुस