सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा अर्बौ लगानी गरेर ११४ मेगावाट विद्युत उत्पादन गर्दै निजी क्षेत्र

२०७९ भदौ ५, ०६:२० खबर संवाददाता

वीरेन्द्र भट्ट, धनगढीः सुदूरपश्चिम प्रदेशका नदी तथा खोलाहरूबाट जलविद्युत उत्पादनका लागि निजी क्षेत्रको लगानी भित्रिने क्रम बढेको छ। प्रदेशका दुई जिल्ला बझाङ र दार्चुलामा निजी क्षेत्रले ठूलो लगानी गरेर जलविद्युत निर्माणमा तीव्रता दिइरहेका छन्। 

प्रदेशभित्र अहिले पनि ३० प्रतिशत नागरिक विद्युत सेवाबाट वञ्चित छन्। दार्चुलामा ३० मेगावाटको चमेलिया जलविद्युतबाहेक सुदूरपश्चिम प्रदेशको जलविद्युत उत्पादनमा सरकारी लगानी शून्य छ। निजी र सरकारी गरि प्रदेशभित्र ५२ मेगावाट विद्युत मात्र उत्पादन भएको छ। जलविद्युत उत्पादनमा सरकारी लगानी शुन्य देखिएका बेला निजी क्षेत्रको लगानी भने एकपछि अर्को बढ्दै गएको छ। 

बझाङका विभिन्न नदी तथा खोलामा गरेर निजी क्षेत्रले झण्डै २२ अर्ब लगानी गरेर जलविद्युत निर्माणको काम भइरहेको छ। त्यस्तै दार्चुलामा पनि झण्डै १७ अर्ब लगानीमा जलविद्युत निर्माणमा निजी क्षेत्रको लगानी आएको छ। बझाङ र दार्चुलामा साना ठुला गरि एक दर्जनको हाराहारीमा जलविद्युत योजना निर्माणाधीन अवस्थामा छन्।

यी साना ठुला आयोजनामा गरेर निजी क्षेत्रको लगानी ४० अर्ब नजिक पुगेको छ। हाल सुदूरपश्चिम प्रदेशभित्र एक सय १४ मेगावाट विद्युत उत्पादन क्षमताका आयोजनाको निर्माण भइरहेको मकरीगाड हाइड्रो प्रालिका इन्जिनियर उपेन्द्रबहादुर चन्दले बताए। ‘हाल निर्माणाधीन सम्पूर्ण आयोजनाको काम अबको ५ वर्षभित्र सम्पन्न हुनेगरी काम भइरहेको देखिन्छ’ उनले भने। 

कालंगा हाइड्रोपावर, अपि हाइड्रो पावर तथा मकगरीगाड हाइड्रो पावरले ८ देखि ६० मेगावाटसम्मका विद्युत आयोजनाको निर्माण गर्दै आएको छ। दार्चुलामा ८ मेगावाट क्षमताको अपर नौगाड साना जलविद्युत आयोजनाको निर्माण अपि पावर कम्पनीले सम्पन्न गरेर राष्ट्रिय प्रशारण लाइनमा जोडिसकिएको छ। यस्तै दोस्रो आयोजना ८ मेगावाट र ४० मेगावाटको माथिल्लो चमेलिया निर्माणको काम पनि तीव्र गतिमा अघि बढेको छ। 

उता, बझाङमा ३८ दशमलव ४६ मेगावाटको कालंगा जलविद्युत आयोजना, १६ मेगावाटको सानीगाड जलविद्युत आयोजना तथा ६५ मेगावाट विद्युत उत्पादन क्षमताको आयोजनाबाट ८० मेगावाट विद्युत उत्पादन गर्न सकिने कालंगा हाइड्रो प्रालिले जनाएको छ।

२०७२ यता जलविद्युतको सम्भावना रहेका अधिकांश खोलाहरूमा जलविद्युत् उत्पादन र सर्भेको लाइसेन्स लिने निजी कम्पनीको संख्या बढेको छ। सुदूरपश्चिम प्रदेशमा जलविद्युतको सम्भावना रहेका अधिकांश खोलाहरूको लाइसेन्स निजी क्षेत्रले लिइसकेको छ। 

नेपाल सरकारको उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको विद्युत् विकास विभागले सुदूरपश्चिम प्रदेशमा एक मेगावाटभन्दा बढी क्षमताका २४ वटा खोलामा विद्युत् उत्पादन तथा सर्भे गर्ने लाइसेन्स वितरण गरेको छ। विभागबाट १३ वटा जलविद्युत् आयोजना निर्माणका लागि निजी क्षेत्रले लाइसेन्स लिएका छन्।
 

कमेन्ट लोड गर्नुस