सुदूर नेपाललाई विश्वसँग जोड्दै

२५ जना क्षमता भएको कारागारमा ९३ कैदी, त्यसैमा कोरोना सल्किँदा आपत्

२०७९ भदौ ४, ०९:०० खबर संवाददाता

बैतडी: जिल्ला कारागार बैतडीमा क्षमताभन्दा झण्डै चार गुणा कैदीबन्दी छन्।  २५ जनाको क्षमता भएको कारागारमा अहिले ९३  कैदीबन्दी राखिएका छन्। क्षमताभन्दा बढी कैदीबन्दी हुँदा बसोबासका लागि पनि निकै समस्या भएको जिल्ला कारागार बैतडीका जेलर धारा भण्डारीले जानकारी दिइन्। 

कैदीबन्दीहरुलाई बसोबासको समस्या भएपछि कारागार परीसरमा टेन्ट राखेर बसोबासको व्यवस्था मिलाएको उनले बताइन्।  कारागार परिसरमा दुईओटा टेन्ट राखिएका छन् भने कोठाहरुमा पनि खाटमाथि खाट राखेर बसोबासको व्यवस्था मिलाइएको भण्डारीले बताइन्।

कारागारमा रहेका १६ जना कैदीबन्दीमा कोरोना संक्रमण भएपछि अहिले बसोबासको व्यवस्थापनमा झन् समस्या भएको छ। संक्रमितहरुलाई एक कोठामा राखिएको र उनीहरुका लागि अलगै शौचालयको व्यवस्था मिलाइएको भण्डारीले बताइन्।

पूरानो भवन पनि जीर्ण भईसकेकाले कैदी बन्दीहरुलाई बसोबासका लागि निकै समस्या भएको छ। जिल्ला कारागारमा महिला कैदीबन्दी आएमा डडेल्धुरा पठाउनुपर्ने बाध्यता रहेको छ।  २०४० सालमा निर्माण भएको कारागार भवन जीर्ण भइसक्दा समेत नयाँ भवन बन्न सकेको छैन। 
 

कमेन्ट लोड गर्नुस