सुदूर नेपाललाई विश्वसँग जोड्दै

साह्रै अल्छी भए धनगढीका सवारी चालक !

२०७९ भदौ ३, ०७:३१ महेश वडू

धनगढी:  सुदूरपश्चिमको अस्थाई मुकाम धनगढी उपमहानगरपालिकामा अहिले ट्राफिक चाम निकै बढेको छ। बढ्दै गरेको सवारी साधनको खरिद तथा साँघुरा सडका कारण धनगढी अस्तव्यस्त देखिने गरेको छ। धनगढीमा सबैभन्दा बढी त अटोहरुले ठाउँ ओगटेका छन्। धनगढीमा आवश्यकताभन्दा बढी अटोरिक्सा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले बताएको छ। 

मोहना पुल अत्तरिया ६ लेन सडकको बीच भागमा बनाइएका जेब्रा क्रसिङहरुमा ट्रफिकले डिभाइडर राखेको छ। ६ लेनमा लेनको पालन नगर्दा सवारी दुर्घटना बढेको जिल्ला प्रहरी कार्यालयका प्रमुख वकिल सिंहले बताए। 

‘धनगढीका अल्छी सवारी चालक ५ सय मिटर टाढा पुगेर बाटो काट्नुपर्ने ठाउँमा डिभाइडर राखिएका ठाउँमा अलिपनि खाली ठाउँ देख्नुहुन्न त्यहीबाट बाटो काट्ने गर्छन्’ उनले भने, ‘सवारी चालक अनुमतीपत्र प्रप्त गरेका चालकहरुले नै यस्तो हर्कत बढी गरेको पाइन्छ। उनीहरुलाई थाहा नभएको केहीपनि हुँदैन तर उनीहरुको मुर्खताले ६ लेन सडकमा दुर्घटनाको जोखिम बढेको छ।’ 

ट्राफिक व्यवस्थापनको मुख्य चुनौतीको रुपमा ट्राफिक जनशक्तीको कमी, वैज्ञानिक उपकरण प्रयाप्त मात्रामा नभएको र छाडा पशु चौपाया रहेको ट्राफिक कैलालीले बताएको छ। यस्तै प्रयोजन विपरीतका कार्यमा ट्याक्टर सञ्चालन र व्यवस्थित सडक नहुनु जस्ता प्रमुख चुनौती रहेको प्रमुख सिंहले बताए। 

मोहना पुल–अत्तरिया ६ लेन सडक तथा धनगढीको मुख्य सडकमा हुने गरेको अव्यवस्थित सवारी पार्किङ पनि दुर्घटनाको कारण र सहरको सुन्दरतामा कमी आउनुको कारणमध्ये एक रहेको छ। मोहना पुल–अत्तरिया ६ लेन सडकमा नेपाल आयल निगमका ट्याङ्करहरुलाई पार्किङको लागि मिलन चोकमा जग्गा दिइएको छ। तर पनि अधिकाशं ट्याङकर, ट्रक, जीप, बस तथा अन्य निजी सवारी साधन ६ लेनमै पार्क हुन्छन्। त्यहाँको पार्किङ हटाउने कार्य र व्यवस्थापन गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।  

कैलाली प्रहरीको तथ्यांक अनुसार जिल्लामा २०७६/७७ मा १४६, २०७७/०७८ मा ३२७ र २०७८/०७९ मा २५५ सवारी दुर्घटना भएका छन्। यी दुर्घटना हुनुको मुख्य कारण ट्राफिक नियमको पालना नगर्नु भएको प्रहरीले बताएको छ।  
धनगढीका स्थानीय रोहित चन्दका अनुसार दुर्घटनाको प्रमुख कारण धनगढीका सडक हुन्। उनी भन्छन्, ‘धनगढीका अधिकांश निमार्णाधीन सडक, जथाभावी सवारी चलाउने बानी तथा जहाँ पायो त्यही पार्किङ गर्ने बानीले धनगढी कुरुप बनेको छ। यसमा सम्बन्धित निकायले ध्यान दिन जरुरी छ।’ यस्तै धनगढी विशालनगरका हर्क चौधरी भन्छन्, ‘बाध्यता हुन्छ। त्यसैले बाटो काट्छौ नियमको बारेपनि धेरै जानकारी छैन।’ 

धनगढी उपमहानगरले ट्राफिक व्यवस्थापनको लागी विशेष पहल गरिरहेको जनाएको छ। धनगढी मुख्य बजार क्षेत्रका विभिन्न स्थानहरुमा आधुनिक पार्किङको लागि जग्गा खोज्ने कार्य भइरहेको उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले बताए। उनले भने, ‘धनगढी मुख्य बजार क्षेत्रमा रहेको खाली जग्गा भाडामा लिएर आधुनिक पार्किङ स्थल सञ्चालन गर्ने कुरा भइरहेको छ। यसको लागी सरकारी जग्गा भएको स्थानमा सरकारी कार्यालय तथा निजी जग्गा भएको स्थानमा सम्बन्धित व्यक्तिसँग जग्गा भाडामा लिने प्रक्रिया अगाडि बढाएका छौं।’ 

जग्गा भाडामा लिएपछि उपमहानगरपालिकासँग उक्त स्थानमा हरियालीसहितको पार्किङ स्थल बनाउने योजना छ। जसमा सार्वजनिक शौचालय, रेस्टुरेन्ट र पार्किङ स्थल बनाइने नगर प्रमुख हमालले बताए। 

महेश वडू दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस