कञ्चनपुरका निरजको नागरिकता हरायो, पाउनेले उनको नाममा कम्पनी खोलिदिए
काठमाडौं: कञ्चनपुरका निरज पाण्डेयको नागरिकता प्रमाणपत्र हराएको थियो। तर, फेला पार्नेले प्रहरीमा बुझाउनुको सट्टा उनको नाममा नक्कली कम्पनी खोलेर अवैध काम गरेको भेटिएको छ।
सोही नागरिकताका आधारमा पाण्डेलाई गत वर्ष मंसिर २८ गते एभरेष्ट लिंक ईन्टनेशनल एजुकेशन प्रालिको मालिक बनाइएको थियो। उक्त कम्पनी कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा २७९५९६/०७८/०७९ नम्बरमा दर्ता भएको थियो।
अझ अचम्मको कुरा के भने पाण्डेलेलाई यो जानकारी थिएन। त्यसपछि सोही नागरिकताको आधारमा सेञ्चुरी र कुमारी बैंकमा खाता खोलियो। यी सबै काम भएपछि सोही कम्पनीको नामबाट मानिसलाई विदेश पठाइदिने ठगी धन्दा चलाइएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
कम्पनीको सीईओ बनेका भक्तपुर, मध्यपुरथिमीका २८ वर्षे सुरेश भन्ने प्रदिप कर्मचार्य, पाण्डेयको नाममा बैंक खाता खोल्ने मुगुको खत्याड गाउँपालिकाका २४ वर्षे विशाल कार्की र २१ वर्षे रामकृष्ण रावतले रुस पठाउने नाममा ठगी गरेका थिए।
आफ्नो नामबाट ठगी भएको थाहा पाएपछि पाण्डेय प्रहरीमा उजुर दिएका थिए। त्यसपछि ज्ञानेश्वरमा कार्यालय खोलेका तीनैलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवनको टोलीले पक्राउ गरेको छ।