सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा पनि ‘बुढी’ हालेर मनाइयो ओल्के पर्व (भिडियोसहित)

२०७९ भदौ १, ०७:४५ महेश वडू

धनगढीः सुदूरपश्चिमको मनाइने ओल्के पर्व मौलिक एवम् विशेष महत्वको पर्व मानिन्छ। सुदूर पहाडमा बुढी हालेर मनाइने ओल्के पर्व धनगढीमा पनि मनाउन सुरु गरिएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ४ मा बुधबार ओल्के संक्रान्तिका दिन बुढी हालिएको छ।

परम्परागत धर्म अनुसार भदौ १ गते बुढी हालेर असोज १ गते पोल्ने चलन छ। भगवान श्री कृष्णले कंशकी बहिनी पुतनालाई मारेको पर्वकोरुपमा ओल्के पर्व मनाइने गरेको स्थानीय तारानाथ रोस्याराले बताए। ‘धनगढीमा बसेको ११ वर्ष भयो तर अहिलसम्म मैले बुढी हालेको तथा पोलेको देखेको छैन्’ उनले भने, ‘यो पर्वलाई गाई गोठालाहरुले मनाउने हो।

पहाडमा यो पर्व धुमधामले मनाउने भएपनि यसरी यहाँ सबैले मिलेर बनाउँदा खुसी छौं।’ के हो बुढी हाल्नु र पोल्नु ? सुदूर पहाडमा ओल्के संक्रान्तिका दिन गाउँ नजिकका अलिक उच्चो टाकुरामा सबैजना मिलेर रूखका हांगाविंगा, झ्याङ तथा अन्य बोटबिरुवा काटेर एक ठाउँमा थुप्रो बनाइन्छ। यो थुप्रोलाई स्थानीय भाषामा ‘बुढी हालेको’ भनिन्छ।

बूढीलाई असोज संक्रान्तिका साँझ प्रत्येक घर–घरबाट आगोको राँको एकैपटक निकाली एकैसाथ पोलेर बूढी पोल्ने पर्व मनाउने परम्परा रहेको स्थानीय सुन्दर धामीले बताए। उनले भने, ‘द्वापरकालीन मथुराकी पुतनाको कथासङ्ग पनि जोडिएको छ।

सुदूरपश्चिमका पहाडी जिल्लामा मात्रै बुढी पोल्ने पर्व मनाइने गरिन्थ्यो। घरबाट आगोको राँको निकाल्दा पूरै घरलाई घुमाएर निकाल्ने गरिन्छ। आजको दिन बढी हालेर असोन १ गते घरबाट चिरेको काँक्रो लगेर पोलेको बूढीमा थुक्ने गरिन्छ। यसरी बूढी पोलेमा वर्षभरि लुतो लगायतका रोगव्याधिबाट परिवारजन मुक्त हुने मान्यता छ।’ धनगढीवासीको लागि यो नौलो अनुभव हुने उनले बताएका छ।

 

महेश वडू दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस