सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरा अस्पतालबाट मेडिकलमा रेफर !

२०७९ साउन ३०, १०:०१ खबर संवाददाता

डडेल्धुरा: डडेल्धुरा अस्पतालमा कार्यरत कर्मचारीले बिरामीलाई निजी मेडिकलमा पठाइरहेकाे खुलासा भएको छ। अस्पतालमा उपचारका लागि पुगेका दाँत सम्बन्धीका बिरामीलाई औषधि तथा उपकरण नभएको भन्दै एक कर्मचारीले अस्पताल रोडमा रहेको निको फार्मेसीमा रेफर गर्ने गरेको गुनासो आएको छ। त्यहाँ सामान्य उपचारको ७ हजारसम्म असुल्ने गरेको पाइएको हो। 

एक वर्षअघि मात्र डडेल्धुरा अस्पतालले सेवाग्राहीको गुनासो व्यवस्थापन गर्ने उद्देश्यले अस्पतालमा सबै उपचार सेवा भएको बताएको थियो। अस्पतालले उपचार सेवा नभएको अवस्थामा जिम्मेवार कर्मचारीबाट आधिकारिक रुपमा मात्रै बाहिर जान सल्लाह दिनेगरि सार्वजनिक सूचना नै प्रवाह गरेको थियो। तर सोही सूचनालाई उपेक्षा गर्दै आफ्नो फाँटमा आउने बिरामीलाई धमाधम बाहिर लगेर औषधि र परीक्षणबाफत अस्वभाविक रकम असुलेको पीडित पदमराज पनेरुले बताए। 

एकातिर अस्पतालमा सेवा नदिने अर्कोतिर मेडिकलमा लिएको रकमको पनि यथार्थ रसिद नदिने गरेको गुनासो पनेरुले गरे। उनले भने ‘रसिद माग्दा प्रिन्टर बिग्रेको भन्दै आलटाल गरिन्छ। मैले सात हजार दिए मेडिकलबाट मलाई डडेल्धुरा डेण्टल क्लिनिक फर्मको नाम रहेको पाँच हजारको मात्र रसिद थमाए।’ बाँकी लेख्न नमिल्ने भन्दै बिरामीलाई झुक्याएको उनले बताए। 

 मेडिकलमा तानेर सामान्य उपचारको महंगो शुल्क असुल्दै गर्दा अस्पताल प्रशासन र अस्पताल विकास समिति अनभिज्ञ रहनु शंकास्पद विषय भएको भन्दै अस्पतालप्रति आक्रोश बढेको बिरामीका आफन्त पनेरुले गुनासो गरेका छन्। 

उता डडेल्धुरा डेण्टल क्लिनिकले भने बिरामीका आफन्तले लगाएका सम्पूर्ण आरोप झुटो भएको बताएको छ। बिरामी आफै उपचार गराउन क्लिनिकमा आएको र उक्त बिल लग्नुभन्दा नलगेरै गएको सञ्चालकले बताएका छन्। बिरामीका आफन्त अर्को दिन आएर बिल मागेको क्लिनिकले बताएको छ। 


   
 

कमेन्ट लोड गर्नुस