सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदावरीमा मापदण्ड पूरा नगरेरै ५ तारे होटेल र क्यासिनो निर्माणको शिलान्यास

नक्सा पास छैन, डीपीआर र इआइए बनाइएन

२०७९ साउन ३०, ०८:३२ खबर संवाददाता

वीरेन्द्र भट्ट, धनगढीः शनिबार नेपाली काँग्रेसका केन्द्रिय सदस्य डाक्टर शंशाक कोइराला प्रभु एयरको निजी हेलिकोप्टरबाट कैलालीको गोदावरीस्थित हरैया आइपुगे। पोखराको आइडिया ग्रुपले कैलालीको गोदावरी नगरपालिका–७ को हरैयामा खोल्न लागेको आइडिया होटेल एण्ड क्यासिनो शिलान्यास गर्न कोइराला पुगेका थिए। 

सुदूरपश्चिम प्रदेशकै सबैभन्दा ठुलो होटल खोल्ने भन्दै हरैयाको २३ बिघा जमिन यसअघि नै आइडिया ग्रुपले खरिद गरेको थियो। होटल २ बिघामा निर्माण हुने दाबी गरिएको छ। होटल शिलान्यास गर्नुअघि विस्तृत आयोजना प्रतिवेदन(डीपीआर) तथा वातावरणीय प्रभाव मुल्यांकन गर्नुपर्ने हुन्छ। तर आइडिया ग्रुपले शिलान्यासपूर्व यी कुनै काम गरेको छैन। 

शिलान्यासपूर्वकाे अनिवार्य डीपीआर भएन
कुनै पनि सार्वजनिक तथा निजी व्यवसायीक प्रयोजनका भवन निर्माण गर्नुअघि विस्तृत आयोजना प्रतिवेदन(डीपीआर) निर्माण गर्नुपर्ने व्यवस्था छ। नक्सापासदेखि विस्तृत वातावरणीय प्रभाव मुल्यांकन(इआइए) गरेर मात्र निर्माणको प्रक्रियामा जानुपर्ने सहरी विकास तथा भवन निर्माण विभागका सिनियर डिभिजन इन्जिनियर राजेन्द्र खतिवडा बताउँछन्।

‘भवनको तला जतिसुकै भएपनि नक्सापास अनिवार्य गर्नुपर्छ। डीपीआर, इआइए तथा आन्तरिक वा वाह्य लगानीमा निर्माण हुने हो भने लगानी बोर्डसँग समेत समन्वय गर्नुपर्ने हुन्छ’ उनले भने।   क्यासिनोसहित ५ तारे होटलको शिलान्यास गरेको आइडिया ग्रुपले भने कुनै प्रावधानको पालना गरेको छैन।

नक्सा पासबिना शिलान्यास
४ तारेदेखि ५ तारे डिलक्स होटलले कूल क्षेत्रफलको ४० प्रतिशतमा संरचना बनाउनुपर्ने र सबै स्तरका होटलले इआइए गर्नुपर्ने मापदण्ड छ। साथै होटलले बनाउने संरचना भवन ऐन २०५५ तथा नियमावली २०६६ र राष्ट्रिय भवन संहिता २०६० अनुसार स्वीकृत भएको हुनुपर्नेछ। आइडिया ग्रुपले भने १५ तले होटल निर्माणका लागि नक्सा पास समेत गरेको छैन। 

गोदावरी नगरपालिकाभित्र निर्माण हुने कुनैपनि भौतिक संरचनाको निर्माण नक्सा पास गरेर मात्र अघि बढाउन दिने व्यवस्था भएको गोदावरी नगरपालिकाका इन्जिनियर जनक खड्काले बताए। ‘आइडिया ग्रुपले नक्सापास गरेको देखिँदैन। सामान्यतया ४ देखि ५ तलासम्म नगरपालिकाबाटै नक्सापास हुने गरेको छ’ उनले भने, ‘हामीसँग स्ट्रक्चर इन्जिनियर नभएकाले यहाँबाट जाँच गर्न नसकिने भवनको हकमा सहरी विकास विभागमा पठाउने गरिएको छ।’

अहिले नै ५ तारेको झुटो दाबी 
पर्यटन विभागका अनुसार होटल निर्माण भएर सञ्चालनमा आएपछि मात्र त्यसको भौतिक संरचनादेखि सेवा सुविधा हेरेर तारा प्रदान गरिन्छ। निर्माण गर्दा पाँच ताराको दाबी गरे पनि त्यस्ता होटलको मापदण्ड अनुसार मूल्यांकनपछि मात्रै होटलले ताराको गे्रडिङ पाउँछ। 

आइडिया नामक ग्रुपले भने होटल निर्माणका लागि सामान्य मापदण्डसमेत पुरा नगरेर जमिनदारको जग्गा बिक्री गराउन हतारमा होटलको शिलान्यास गरेको हुनसक्ने स्थानीको आंशका छ। तर, आइडिया ग्रुपले भने देशविदेशबाट लगानी झिकाउन होटलको सुरुमै शिलान्यास गरेको बताएको छ। 

डीपीआर र वातावरणीय प्रभाव मुल्यांकन गरेर मात्र देशविदेश तथा बैंकहरुको लगानी नहुने भएकाले पहिले भवनको शिलान्यास गरेको आइडिया ग्रुपका अध्यक्ष गोकर्ण श्रेष्ठले बताए। ‘डीपीआरको काम भइरहेको छ। निर्माण सुरु भएको २ वर्षभित्रै काम सम्पन्न गर्ने गरी सबै प्रक्रिया सँगसँगै अघि बढाएका हौँ’ उनले भने, ‘हामीलाई विश्वास छ वातावरणीय प्रभाव मुंल्याकन हाम्रै सोचअनुसार हुनेछ।’ तर नियममा भने पहिला इआइए अनि मात्र शिलान्यास गर्नुपर्ने उल्लेख छ।

जमिनदारको जग्गा बिक्री गर्न ५ तारे होटलको हवला
आइडिया ग्रुपले २३ बिघा जमिन खरिद गरेको छ। २ बिघामा मात्र होटल खोल्ने भन्दै शिलान्यास गरिएको छ। वरिपरि बस्ती निकै न्यून छ। ठुलठुला फाँटहरु जमिनदारले ओगटेका छन्।

क्यासिनोसहितको होटल खुल्नु सुदूरपश्चिमको आन्तरिक एवं वाह्य पर्यटकका लागि खुशीको कुरा भएपनि कुनै मापदण्डमा नटेकेर होटल बनाउने भन्दै शिलान्यास गर्नु जमिनदारको जग्गा बिक्री गराउने खेल मात्र भएको स्थानीय प्रमोद भाटको आंशका छ। ‘पहिले नै होटलको शिलान्यास गरिसकिएको छ। यदि वातावरणीय मुल्यांकनले होटलका लागि सो स्थान उपयुक्त नभएको देखाएपछि के हुन्छ ? यसकारण पनि यो जमिनदारको खेत बेचाउने चाल मात्र हो’ उनले भने। 

लगानीको टुंगो छैन
होटेलको शिलान्यास गर्नुपूर्व डीपीआर निर्माण, सम्बन्धित पालिकामा नक्सा पास तथा सम्बन्धित प्रदेशमा वातावरणीय प्रभाव मुल्यांकन गर्नुपर्ने व्यवस्था छ। तर आइडिया ग्रुपले भने यी कुनै पनि मापदण्ड पूरा नगरेरै जमिनदारको जग्गा बिक्री गराउन २ अर्ब लगानी गरेर ५ तारे होटलको हवाला दिँदै तामझामका साथ होटलको शिलान्यास गरेकोप्रति स्थानीय संशकित छन्।  साथै होटल निर्माणका लागि अहिले नै लगानीको टुंगो नलागेको स्वयम् आइडिया ग्रुपले नै बताएको छ।
 

कमेन्ट लोड गर्नुस