स्थानीय चुनावमा ४ भोट पाएका डडेल्धुराका खडक प्रदेश सांसद लड्ने
बलात्कारीलाई खसी बनाउने घोषणापत्र
धनगढीः डडेल्धुराको भागेश्वरका युवा खडक ठकुराठीले संसदीय चुनावमा प्रदेश सांसदका लागि निर्वाचनमा होमिने बताएका छन्। उनले एक मिडियालाई अन्तरवार्ता दिदैं डडेल्धुराबाटै प्रदेश सांसद लड्ने घाषणा गरेका हुन्।
उनले डडेल्धुराको क्षेत्र नम्बर क बाट चुनाव लड्ने जनाएका छन्। ‘म विकास निर्माणका लागि उम्मेदवारी दिन लागेको हुँ’, उनले भनेका छन्, ‘प्रदेश सभामा उम्मेदवारी दिन्छु। बलात्कारीहलाई खसी बनाएर पुलिसको जिम्मा लगाई खसीको लाइसेन्स दिएर घर पठाइने मेरो एकमात्र घोषणापत्र हो।’ परशुराम क्षेत्रको वन फडानी पनि रोक्न आफ्नो उम्मेदवारी रहेको उनको दाबी छ।
यस्तै उनले भागेश्वर गाउँपालिकामा स्वतन्त्रतर्फ अध्यक्षको उम्मेदवारी दिएका बेलाका घोषणा पनि कायम रहने जनाएका छन्। उनले त्यसबेला उम्मेदवारी दर्ता गराउनु अघि घोषणा पत्रमा उनले हेलिकोप्टरबाट बीउ छर्ने र हेलिकोप्टरबाटै सिँचाइको व्यवस्था मिलाउने बताएका थिए।
ठकुराठीले नागरिकलाई ३६५ दिन नै दसैँ मनाउने व्यवस्था गर्नेदेखि महाकाली नदीमा नेपाली झण्डावाहक पानी जहाज चलाउने चुनावी एजेण्डा बोकेका थिए। तर, ठकुराठीले सो चुनावमा ४ मत मात्रै मत पाएका थिए।