सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमकाे औद्योगिक क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको लगानी २७ अर्ब बढी 

औद्योगिक कर्जामा ४३ प्रतिशतले वृद्धि

२०७९ साउन २९, ०६:४६ खबर संवाददाता

वीरेन्द्र भट्ट, धनगढीः सुदूरपश्चिममा सञ्चालित उद्योगहरुमा बैंक तथा वित्तीय संस्थाहरुको लगानी बढेको छ। राष्ट्र बैंक धनगढीको पछिल्लो आर्थिक गतिविधि अध्ययन प्रतिवेदनले औद्योगिक कर्जा बढेको देखाएको हो। 

प्रदेशभित्र उद्योगको संख्या न्यून देखिए पनि सञ्चालनमा रहेका उद्योगमा बैंक तथा वित्तीय संस्थाहरुबाट अपेक्षाकृत रुपमै लगानी भएको देखिएको राष्ट्र बैंक धनगढीकी उपनिर्देशक अम्बिका रिमालले बताइन्। ‘सुदूरपश्चिमका पहाडी जिल्लाभन्दा तराईका जिल्ला कैलाली र कञ्चनपुरमा सबैभन्दा बढी औद्योगिक कर्जा प्रवाह भएको देखिन्छ’ उनले भनिन्, ‘यस्तो कर्जा सबैभन्दा बढी कैलालीमा २१ अर्ब २६ करोड र सबैभन्दा कम बझाङमा ९ करोड कर्जा प्रवाह भएको तथ्यांक छ।’ 

कैलालीपछि कञ्चनपुरमा ४ अर्ब ५१ करोड लगानी भएको छ। यस्तो कर्जा बाजुरामा ११ करोड, दार्चुलामा १५ करोड, बैतडीमा १३ करोड, डडेल्धुरामा ६८ करोड, डोटीमा २० करोड तथा अछाममा १५ करोड लगानी भएको राष्ट्र बैंकको तथ्यांक छ।

२०७८ पुष मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले सुदूरपश्चिमको उद्योग क्षेत्रमा प्रवाह गरेको कर्जाको अंश २०७८ असार मसान्तसम्मको तुलनामा ४३ दशमलव शून्य ३ प्रतिशतले बढेर २७ अर्ब २७ करोड ८२ लाख पुगेको छ। 
गत वर्षको सोही अवधिमा यस्तो कर्जा १९ दशमलव ७४ प्रतिशतले बढेको थियो। बैंक तथा वित्तीय संस्थाहरुले गरेको कूल कर्जा लगानीमध्ये उद्योग क्षेत्रमा १८ दशमलव ४९ प्रतिशत लगानी उद्योग क्षेत्रमा लगानी भएको देखिएको राष्ट्र बैंक धनगढीले सार्वजनिक गरेको पछिल्लो अध्ययन प्रतिवेदनले देखाएको छ।

प्रदेशभित्र कूल औद्योगिक कर्जामध्ये गैर खाद्यबस्तु उत्पादन सम्बन्धी उद्योगमा २४ दशमलव ८४ प्रतिशतले वृद्धि भएको छ भने विद्युत, ग्यास तथा पानी सम्बन्धी उद्योगमा सबैभन्दा बढी २९ दशमलव ३१ प्रतिशतले कमी आएको छ। 
यस्तै निर्माण सम्बन्धी उद्योगमा ३१ दशमलव १५, कृषि, वन तथा पेय पदार्थ उत्पादन सम्बन्धी उद्योगमा ३४ दशमलव ३४ प्रतिशत कर्जा लगानी बैंक तथा वित्तीय संस्थाले गरेको देखिएको छ। 

उद्योग क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको लगानी बढ्दै जानु आफैमा सकारात्मक पक्ष भएको राष्ट्र बैंक धनगढीकी उपनिर्देशक रिमालले बताइन्। 
 

कमेन्ट लोड गर्नुस