भ्रष्टाचारको अभियोगमा ३४ जना पक्राउ
जाकार्ताः इन्डोनेसियाको भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकाय (केपीके) ले कम्तीमा ३४ जनालाई पक्राउ गरेको छ। मध्य जाभा प्रान्तका एक जना जिल्ला प्रमुखलाई समेत पक्राउ गरिएको छ। सरकारी खरिदसम्बन्धी काममा उनीहरूले भ्रष्टाचार गरेको आरोप लागेको छ।
पेमालाङ जिल्लाका प्रमुख मुक्ति अगुङले भ्रष्टाचार गरेको सूचना बिहीबार बेलुका पाएपछि आयोगको टोलीले छापा मारेको थियो। केपीकेका प्रवक्ता अलि फिक्रीले स्थानीय सञ्चार माध्यमहरुलाई दिएको जानकारी अनुसार उनीहरुलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो। केपीकेको टोलीले उनीहरुमाथि लागेको आरोपसम्बन्धी अरु प्रमाणहरू जुटाउँदै गरेको पनि फिक्रीले जानकारी दिए।
‘धेरै कुरा पत्ता लागेपछि हामी स्पष्ट भएर उनीहरुलाई पक्राउ गरेका हौँ, थप अनुसन्धान गर्ने र प्रमाण जुटाउने काम पनि गरिरहेका छौँ,’ उनले भने। पक्राउ परेका सबैलाई उच्च सुरक्षाका साथ राखिएको उनले जानकारी दिए। सिन्ह्वा