सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको जाखोर ताल क्षेत्रमा लखेटिन्छन् प्रहरी, किन बढ्यो सुरक्षा चुनौती ?

स्थानीयलाई तनाव 

फोटो: रवि बम
फोटो: रवि बम
२०७९ साउन २८, ०४:५० महेश वडू

धनगढीः धनगढी उपमहानगरपलिकाले केही समय अगाडि जाखोर ताल क्षेत्रमा बाटो निर्माण तथा सोलार बत्ती जडान गरेको थियो। पर्यटकलाई आर्कषित गर्न ताल क्षेत्रमा सोलार बत्ती जडान गरिएको हो। 

तर, बत्ती जडानपछि जाखोर तालमा रातको समयमा पनि अनैतिक तथा अवैध चहलपहल बढेको स्थानीयले बताएका छन्। पहिले बत्ती नभएको समयको तुलनामा अचेल चहलपहल बढेको उनीहरुले बताएका हुन्। अचेल रातको समयमा पनि ताल वरपर युवायुवती आएर लागुपदार्थ सेवन गर्ने, यौनजन्य क्रियाकलाप गर्ने गरेको पाइएको स्थानीय तिलक मौनीले बताए।

उनले भने, ‘रातमा ताल क्षेत्र आसपासका घरहरुमा बस्नै गाह्रो भएको छ। मदिरा सेवन गरेर होहल्ला गर्छन्। सुत्नसमेत समस्या हुन्छ। नगरपालिकाले बत्ती जडान गर्नु गलत नभएपनि त्यहाँका स्थानीय तथा संरचनाको सुरक्षामा समस्या भएको छ।’ सुरक्षाका हिसावले पनि बालबालिका तथा महिलालाई घर बाहिर निस्किनै मुस्किल परिरहेको मौनीको भनाइ छ।

केहि दिनअघि मात्रै होहल्ला गरिरहेको एक समूहले प्रहरीलाई समेत ताल क्षेत्रबाट लखेटेको उनले दाबी गरे। तर, जाखोर ताल प्रशासनले भने ताल क्षेत्रमा साँझ ७ बजेदेखि प्रवेश निषेध हुने गरेको जनाएको छ। 

यस विषयमा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीसँग थप बुझ्दा उनले स्थानीयबाट गुनासो आएको र त्यो क्षेत्रमा सुरक्षा बढाएको बताए। ‘नगरपालिका र स्थानीयले सुरक्षा मिलाउन आग्रह गरे। जाखोर ताल क्षेत्रमा सोलर बत्ती जडान भएपछि अबेरसम्म त्यहाँ युवाहरुको समूह बस्ने गरको गुनासो आएको थियो। त्यहाँको सुरक्षाको लागि प्रहरी गस्ती बढाएका छौं।’ उनले भने। तर, प्रहरी भने नलखेटिएको उनको दाबी छ। 

यस्तै वनस्पति अनुसन्धान केन्द्र कैलालीका प्रमुख गंगादत्त भट्टले पनि रातको समयमा उद्यानको सुरक्षामा चुनौती बढेको बताए। ‘नगरपालिकाले ताल क्षेत्र तथा उद्यान क्षेत्रमा अनुसन्धान केन्द्रको सहमति बिना नियमविपरीत ठेक्का सम्झौता गरेको छ। उक्त क्षेत्रमा हुने कुनै पनि ठेक्काहरुको जानकारी गराईएको छैन। सोलार बत्तीले उद्यानमा पनि समस्या भइरहेको छ। वातावरणीय प्रभाव मुल्याङ्कन (इआइए) पनि गरिएको छैन। नगरपलिकाले प्रक्रियामा काम गर्न सकेको छैन। खासमा यो बत्ती जडान गर्नु नै गलत हो’ उनले भने। 

यता, नगरपालिकाले भने वनस्पति केन्द्रसँग समन्वय गरेर नै निर्माण अघि बढाएको बताएको छ। उपमहानगरपालिकाले वनस्पति केन्द्रसँग लिखित सम्झौता नगरेपनि समन्वय गरिरहेको उपमहानगरका प्रसाशकिय अधिकृत रामलाल श्रेष्ठले बताए। नगरपालिका क्षेत्रमा रहेको ताल पालिकाको मातहतमा ल्याउने काम पनि भइरहेको उनले बताए। नगरपालिकाले सुरक्षाको हकमा पनि जिल्ला प्रसाशन कार्यालय र प्रहरीसँग समन्वय गरिरहेको जनाएको छ।
 

महेश वडू दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस