आफ्नो डिभोर्सको टिकटक भिडिओ बनाएपछि पूर्वपतिले गरे पूर्वपत्नीको हत्या
काठमाडौंः कतिपय घरायसी समस्याको समाधान घरभित्रै समाधान गर्नु उचित हुन्छ। निजी र पारिवारिक विषयवस्तु सामाजिक सञ्जालमा सार्वजनिक गर्दै त्यसले अकल्पनीय घटना समेत निम्त्याउन सक्छ। पछिल्लो पटक यसैगरी एउटा दुःखद घटना घटेको छ। सानिया खानको ब्याग प्याक गरिएको थियो। उनी स्वतन्त्र हुन तयार थिइन्। त्यो दिन थियो, २१ जुलाई २०२२। २९ वर्षीया सानिया अमेरिकाको सिकागो छोड्दै थिइन्।
उनको वैवाहिक सम्बन्धले खराब मोड लिएपछि नयाँ जिन्दगीको सुरुवात गर्न उनी सिकागो छोडेर चट्टानुगा सहर जाँदै थिइन्। तर, चट्टानुगा सहर नगई उनी कास्केटमा रहेको घर फर्किइन्। त्यसको तीन दिनपछि सिकागो स्थित अपार्टमेन्टमा खानको मृत शरीर भेटियो। उक्त अपार्टमेन्टमा खान आफ्ना ३६ वर्षीय पूर्व पति राहिल अहमदसँग बस्ने गर्थिन्। प्रहरी अधिकारीबाट मृत घोषित खानको टाउको पछाडि गोली लागेको थियो।
प्रहरी आउँदै गरेको थाहा पाएपछि अहमदले उक्त बन्दुकले आफैँलाई गोली हानी आत्महत्या गरे। प्रहरीको प्रतिवेदन अनुसार उक्त जोडी सम्बन्धविच्छेदबाट गुज्रिरहेको थियो। खानसँग छुट्टिसकेपछि उनका पति अहमद अर्को राज्यमा बस्दै आएका थिए। प्रहरी प्रतिवेदनमा अहमद आफ्नो वैवाहिक सम्बन्ध जोगाउन करिब ७०० माइल यात्रा गरेर आफ्नो पहिलेको अपार्टमेन्ट फर्किएका थिए।
हत्या र आत्महत्याको दर्दनाक कथा खानको जीवनको अन्तिम घटना बन्यो। सानिया खान पाकिस्तानमा जन्मिएर अमेरिका बसाइ सरेकी फोटोग्राफर थिइन। उनी सामाजिक सञ्जाल टिकटकमा डिभोर्स भएका र वैवाहिक सम्बन्ध बिग्रिएका महिलाका लागि आवाज उठाउँथिन्। जसबाट उनलाई साहसी महिलाको पहिचान मिलिरहेको थियो। उनको मृत्युको खबरले उनका साथीहरूलाई तरङ्गित पार्यो। उनका अनलाइन फलोअर पनि स्तब्ध बने।
इन्स्टाग्राममा सबैभन्दा पहिले उनले एउटा सार्वजनिक प्लेटफर्म तयार पारेकी थिइन्। जसमा उनले फोटोग्राफीप्रतिको आफ्नो लगावबारे सानो लेख पनि राखेकी छिन्। खान विभिन्न विवाह समारोहका फोटो, प्रसूति शुटहरू, बेबी शाओर जस्ता विभिन्न रीतिरिवाचका फोटो खिच्ने गर्थिन्। जसबाट उनले राम्रै आम्दानी गरिरहेकी थिइन्।
आफ्नो जिन्दगी रमाइलो तरिकाले बाँचिरहेकी थिइन्। त्यही बेला उनको भेट अहमदसँग भयो। पाँच वर्षको प्रेम सम्बन्धपछि जुन २०२१ मा उनीहरूको विवाह भयो । बिहेपछि उनीहरू सिकागो सरेर सँगै बस्न थाले। खानकी साथीले अहमद लामो समयदेखि मानसिक स्वास्थ्य समस्याबाट ग्रस्त रहेको दाबी गरेकी छिन्। जसले गर्दा उनीहरूको सम्बन्धमा उतारचढाव आइरहेको थियो।
उनीहरूबीच मनमुटाब भइरहे पनि वास्तविक समस्या गत डिसेम्बरबाट सुरु भयो। खानले आफ्ना साथीहरूलाई अहमदमा मानसिक स्वास्थ्य समस्या भएकाले आफू असुरक्षित भएको बताएकी थिइन्। उनको वैवाहिक सम्बन्ध राम्रो नहुने देखेपछि उनका साथीले खानलाई डिभोर्स गर्न सुझाव दिए। उनले सुरुवातमा मानिसहरूले नराम्रो सोच्लान् भनेर सम्बन्ध विच्छेद गर्न तयार थिइनन्।
तर, पछि उनले साथीहरूको साथ पाएपछि डिभोर्सको मुद्दा दर्ता गरिन्। त्यसपछि उनी स्वतन्त्र भइन्। उनी आफ्नै तरिकाले बाँच्न थालिन्। उनी टिकटकमा आफ्ना पारिवारिक तथा डिभोर्सका घटनाहरू बाँड्न थालिन्। आफूले कस्तो परिस्थितिको सामना गरिरहेकी छिन् भन्ने कुरा खान टिकटकमार्फत सार्वजनिक गर्थिन्।
उनका पतिलाई त्यसरी व्यक्तिगत घटना डिभोर्स भइसकेपछि बाहिर ल्याएको मन परिरहेको थिएन। त्यही कुराले अहमदलाई झनै तनाव दिइरहेको थियो। त्यसपछि उनले खानको हत्या गर्ने योजना बनाएर अनि हत्या गरे। खानको मृत्यु हुँदासम्म टिकटकमा उनका २० हजार फलोअर थिए। जसमध्ये अमेरिका बस्ने पाकिस्तानकी बिस्मा पार्भेज पनि एक थिइन्।
उनी भन्छिन्, “मलाई सम्झना छ, पहिलो पटक मैले उनको भिडिओ देख्दा उनका लागि प्रार्थना गरेको थिएँ। त्यस्तो अवस्थामा हुने महिलालई प्रतीक्षा गर, सबै ठीक हुन्छ भन्छन्। तर, शोषण गर्ने सम्बन्धका लागि प्रतीक्षा गर्नु उपयुक्त उत्तर होइन।” यसरी समाधान भइसकेका व्यक्तिगत घटना बाहिर ल्याउँदा खानले मृत्यु स्वीकार गर्नु पर्यो। सामाजिक सञ्जालको सस्तो लोकप्रियता र देखावटी फलोअर पाउने आशले केही मानिसहरू आफ्नो गोपनीयता, इज्जत जस्ता कुराको वास्ता गर्दैनन्। जसले गर्दा उनीहरू जिन्दगीको कठोर यात्राबाट गुज्रिन बाध्य हुन्छन्।
–बीबीसीबाट