सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमको खाद्यान्न बचत आधाले घट्यो, ६ पहाडी जिल्लामा शून्य

२०७९ साउन २६, ०३:४२ खबर संवाददाता

वीरेन्द्र भट्ट, धनगढीः सुदूरपश्चिमको पहाडी जिल्ला डोटीबाहेक यस वर्ष ६ जिल्लाको खाद्यान्न बचत शून्य देखिएको छ। डोटीमा यो वर्ष झण्डै २ सय मेट्रिक टन खाद्यान्न बचत भएको छ। तर, विगतका वर्षमा सो जिल्लामा समेत खाद्यन्न बचत शून्य हुँदै आएको हो।

खाद्यान्न बचतको हिसाबमा पहाडी जिल्लाको अवस्था शून्यमा छ। सिँचाई र मल अभावमा पहाडी जिल्लामा खाद्यान्न उत्पादन वर्षेनी घट्दै गएको तथ्यांक छ।  यो वर्ष प्रदेशको खाद्यान्न बचत आधाले घटेको सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालय दीपायलका योजना अधिकृत टेकेन्द्रसिंह ऐरले बताए। ‘अन्नको भण्डार मानिने कैलाली र कञ्चनपुरमै यस वर्ष खाद्यान्न बचत आधाले घटेको छ’ उनले भने, ‘गत वर्ष झण्डै एक लाख मेट्रिक टन खाद्यान्न बचत भएकोमा यस वर्ष ४९ हजार मेट्रिक टन मात्र रहेको छ।’ 

७ पहाडी जिल्लाको खाद्यान्न मागलाई तराईका कैलाली र कञ्चनपुरले आपूर्ति गर्दै आएकोमा यस वर्ष यी दुवै जिल्लाको खाद्यान्न बचत आधाले घटेको प्रदेशको खाद्य वासलातले देखाएको छ।

सुदूरपश्चिम प्रदेशको ठुलो क्षेत्रफल कृषियोग्य भूमि बाँझै रहन गएको समेत निर्देशनालयले जनाएको छ। मल, सिँचाई लगायतका कारण उत्पादनमा समेत हरेक वर्ष कमी आइरहेको देखिएको छ। 

खाद्य वासलातमा कैलाली कञ्चनपुरको खाद्यान्न बचत आधाले घट्नु चिन्ताको विषय भएको सरोकारवाला बताउँछन्। खाद्यान्न उत्पादन नबढ््नुमा संघ, प्रदेश र स्थानीय तहको कृषिप्रतिको बेवास्ता रहेको धनगढी उपमहानगरपालिका वडा २ बैयाबेहडीका स्थानीय सन्तोष खड्काले गुनासो गरे।  ‘यो सुदूरपश्चिम प्रदेशका लागि चिन्ताको विषय हो। कृषिको नाममा अनुदान दिने निकायले लाज मान्नुपर्ने हो। तर रकम वर्षेनी बचाइरहेका छन्’ उनले भने। 

गत वर्षको असोज अन्तिम र कात्तिक पहिलो साता परेको बेमौसमी वर्षा र त्यसपछि आएको बाढीले कैलाली र कञ्चनपुरका किसानको धानबालीमा ठूलो नोक्सान गरेको थियो। कैलालीमा ८३ हजार ३५९ किसानको ४८ हजार १२४ हेक्टरमा लगाइएको धानीबाली नोक्सानी भएको थियो। 

कैलाली र कञ्चनपुरमा तीन अर्ब ७३ करोड मूल्य बराबरको धानबालीमा क्षति पुगेको थियो। यसकारण पनि यस वर्ष खाद्यान्न बचत आधाले घटेको निर्देशनालयले जनाएको छ। अन्नभण्डार मानिने कैलाली कञ्चनपुरमै खाद्यान्न बचत कम भइरहेको अवस्थाप्रति संघ, प्रदेश र स्थानीय तह चिन्तित बन्नुपर्ने निर्देशनालयका योजना अधिकृत ऐर बताउँछन्।
 

कमेन्ट लोड गर्नुस