सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराका समुदायमै पुगेर कानुनी परामर्श दिइने, स्वयंमसेवक खटाउने तयारी 

२०७९ साउन २६, १२:३० खबर संवाददाता

धनगढीः डडेल्धुराका समुदाय र विद्यालयमा कानुनी परामर्श दिने तयारी थालिएको छ। सबै नागरिकको न्यायमा सबैको पहुँच पुर्‍याउने उद्देश्यले उक्त कार्यक्रम गरिने भएको हो।

गैर सरकारी संस्था बहुउद्देशिय विकास समाज (एमपिडीएस) डडेल्धुराको एटूजे परियोजनाले जिल्लाका १० समुदाय र १२ विद्यालयमा कानुनी परामर्श दिने तयारी थालेको परियोजना संयोजक धनबहादुर भण्डारीले बताए। समुदाय तथा विद्यालयमा कानुनी परामर्श दिन स्वयंमसेवक खटाइने उनले जानकारी दिए। 

तीनै स्वयंमसेवकलाई अभिमुखिकरण दिन डडेल्धुरामा ३ दिने तालिम सुरु भएको छ। बिहीवारबाट कानुनका विद्यार्थी र सामाजिक अभियानकर्तालाई समेटेर २० जना प्रशिक्षार्थीलाई तालिम प्रदान गर्न लागेको परियोजना संयोजक भण्डारीले जानकारी दिए। 

उनका अनुसार प्रशिक्षार्थीहरुलाई घरेलु हिंसा, अपराध र लागुऔषध दुव्र्यसनीविरुद्धको कानुनबारे जानकारी प्रदान भइरहेको छ। बार एशोसियसन डडेल्धुराका पदाधिकारी र अन्य अधवक्ताले स्वयंमसेवकलाई तालिम दिइरहेका छन्। 
तालिमपश्चात उनीहरुले समुदायमा गएर अपराध नियन्त्रण गर्ने कानुनबारे जानकारी तथा पीडितको न्यायमा पहुँच बढाउन लक्षित वर्गलाई सहयोग गर्ने बताइएको छ। उनीहरुलाई कानुन विज्ञहरुले तालिम प्रदान गरिरहेका छन्।

अपराधका बारेमा जानकारी, अपराधिक दण्ड सजाय, न्यायका लागि कानुनी प्रक्रिया तथा न्यायमा सबैको पहुँच पु¥याउने कार्यक्रमको लक्ष्य रहेको परियोजना संयोजक धनबहादुर भण्डारीको भनाई छ।  उक्त परियोजना डडेल्धुराका २ स्थानीय तहमा लागू भएको छ।

कमेन्ट लोड गर्नुस