सुदूर नेपाललाई विश्वसँग जोड्दै

नितिश कुमार आठौँ पटक बिहारको मुख्यमन्त्री बने 

तस्बिर : एनडीटीभी
तस्बिर : एनडीटीभी
२०७९ साउन २६, ०५:४५

एजेन्सी: नितिश कुमारले बिहारको मुख्यमन्त्रीको रुपमा शपथ लिएका छन्। उनीसँगै तेजस्वी यादवले पनि शपथ लिएका छन्। राजभवनमा आयोजित एक कार्यक्रममा बिहारका राज्यपाल फागु चौहानले उनलाई पद तथा गोपनियताको शपथ गराएका हुन्।

एक दिन अघि, नितिश कुमारले एनडीए गठबन्धनसँग सम्बन्ध तोड्दै मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए। त्यसपछि उनले राष्ट्रिय जनता दलसँग मिलेर नयाँ सरकार बनाउने दाबी गरेका थिए। नितिश कुमारले १६५ विधायकको समर्थन रहेको दाबी गरेका छन्। सन् २०२० को विधानसभा चुनावमा नितिश कुमारले बीजेपीसँग चुनाव लडेका थिए। तर पछिल्ला केही दिनदेखि यी दुई पार्टीबीचको मतभेद खुलेर बाहिर आउन थालेको छ।

पूर्व केन्द्रीय मन्त्री आरसीपी सिंहलाई लिएर विवाद चर्किएको छ। मंगलबार नितिश कुमारले जनता दल युनाइटेडका विधायक र सांसदहरूको बैठक बोलाएका थिए, जसमा भाजपाबाट अलग हुने निर्णय गरिएको थियो। नितिश कुमारले आठौं पटक मुख्यमन्त्रीको शपथ लिएका छन्।

उनले पहिलो पटक ३ मार्च २००० मा मुख्यमन्त्रीको शपथ लिएका थिए। त्यतिबेला उनको बहुमत थिएन र सात दिनपछि राजीनामा दिनुपरेको थियो। सन् २००५ मा, नितिश कुमारले दोस्रो पटक मुख्यमन्त्रीको रूपमा शपथ लिए। यसपटक उनले भाजपाको सहयोगमा सरकार बनाए।

सन् २०१० मा उनले भाजपासँग मिलेर फेरि सरकार बनाए र तेस्रो पटक मुख्यमन्त्रीको शपथ लिए। तर २०१३ मा उनले भाजपा छोडे। सन् २०१४ को लोकसभा चुनावमा पराजित भएपछि उनले मुख्यमन्त्री पदबाट राजीनामा दिएर जितनराम माँझीलाई मुख्यमन्त्री बनाएका थिए।

तर २०१५ मा उनले फेरि मुख्यमन्त्रीको शपथ लिए र राजीनामा दिनु आफ्नो गल्ती भएको बताए। त्यसपछि २०१५ को विधानसभा चुनावअघि उनले राष्ट्रिय जनता दलसँग गठबन्धन गरे। चुनावमा गठबन्धनले ठूलो सफलता पायो र नितिश कुमारले पाँचौं पटक मुख्यमन्त्रीको शपथ लिए।

तर २०१७ मा उनले आरजेडीसँग सम्बन्ध तोडेका थिए। उनले भाजपा सरकार गठन गरे र छैटौँ पटक मुख्यमन्त्रीको रूपमा शपथ लिए। उनले सन् २०२० को विधानसभा चुनावमा बीजेपीसँग लडे र त्यसपछि सातौँ पटक सीएमको रूपमा शपथ लिए। तर अब उनले फेरि एकपटक भाजपाबाट अलग भए र आरजेडीसँग मिलेर सरकार बनाएका छन् र आठौं पटक मुख्यमन्त्रीको शपथ लिएका छन् ।

कमेन्ट लोड गर्नुस