सुदूर नेपाललाई विश्वसँग जोड्दै

पञ्जावबाट करोड बढीको सुन चोर्ने ‘गिरोह’ लुकाउँदै प्रहरी

४६ लाख बढी नगद र गरगहना बरामद 

२०७९ साउन २५, ०७:४१ टेकसिंह धामी

धनगढी: गत बुधबार दिउँसो १ः१० मा नेपाल एयरलाइन्सको न्यारोबडी विमान मुम्बईका लागि उड्नै लाग्दा रोक्न लगाइयो। यात्रु बोकेर विमान उडानका लागि तयार थियो। तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गतर्फ प्रस्थान गर्नै लाग्दा एक्कासी पाइलट नरबहादुर विश्वकर्मालाई विमानमा ‘आपराधिक गतिविधिमा संलग्न व्यक्ति’ रहेको सूचना आयो। 

उनले त्यहाँका ग्राउण्ड स्टाफसँग सम्पर्क गरे। त्यसपछि एयरलाइन्सका एक कर्मचारीले औपचारिक पत्र प्राप्तपछि मात्रै विमान रोक्न सकिने बताए। तर, नेपाल प्रहरीको आतंकवाद हेर्ने विशिष्टकृत निकाय विशेष ब्यूरोका एक जना प्रहरी निरीक्षकले एयरलाइन्सका ग्राउण्ड स्टाफलाई हप्काउँदै ‘आतंकवादी उडे, यसको जिम्मा लिनुपर्छ’ भने। त्यसपछि पत्रविनै विमान रोकिएको थियो। 

तर, त्यहाँ कुनै आतंकवादी समूह तथा त्यस्ता समूहका मान्छे भने थिएनन्। त्यसपछि प्रहरीले सबै यात्रुहरुलाई चेकजाँच गर्दै एक युवकलाई समात्यो। समातिएका व्यक्ति थिए कैलालीको धनगढीका सुन व्यवसायी तथा नेपाल सुनचाँदी व्यवसायी महासंघ, सुदूरपश्चिमका सभापति सन्तोष लामिछाने। लामिछानेलाई आतंकवादी भनेर पक्राउ गरेपनि उनीमाथि भारतस्थित पञ्जावबाट करोड बढी मूल्य बराबरको सुन चोरीमा संलग्न रहेको आरोप थियो।

त्यसपछि लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा ल्याइएको थियो। भारतीय दूतावासमार्फत आएको उजुरीका आधारमा उक्त चोरी घटनामा नेपाल प्रहरीको विशेष अनुसन्धान ब्युरो र केन्द्रीय अनुसन्धान ब्युरोको टोली समेत खटिएको थियो।

...अनि समातिए अन्य ७ जना
यो चोरी घटनामा गिरोह नै संलग्न रहेको र अहिले सबैलाई पक्राउ गरेर छाडिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ। सुरुमा प्रहरीले साउन १८ गते सन्तोष लामिछानेलाई पक्राउ गरेर कैलाली ल्याएको थियो। त्यसपछि कैलालीमा उनका थप ५ जना साथीहरुलाई पक्राउ गरेको थियो।

तर, उनीहरुको पहिचान भने खुलाइएन। त्यसबेला कैलाली प्रहरी यतिमात्र भनेको थियो तीमध्ये २ जना बैतडीका हुन्। यस्तै सोही चोरी घटनाका आरोपी एक जना काठमाडौं र अर्का डोटीमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले बताए। 

१०/१० हजार रुपैयाँ धरौटीमा छुटे
करोड बढी मूल्यको सुन चोरीको प्रकरणका आरोपी छुटिसकेका छन्। सन्तोष लामिछानेसहितका ६ जना मंगलबार छुटेका हुन्। उनीहरुमाथि जिल्ला प्रहरी कार्यालय कैलालीले अभद्र व्यवहारको मुद्दा चलाएर अनुसन्धान गरिरहेको थियो। नेपालबाहिर चोरी भएका कारण उनीहरुमाथि सार्वजनिक अपराध अन्तरगत अभद्र व्यवहारको मुद्दा मात्रै चलाइएको प्रहरीको दाबी छ। 

तर पछि जिल्ला प्रशासन कार्यालय कैलालीले १०÷१० हजार रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएपछि धरौटी बुझाएर सबैजना छुटेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

यस्तै डोटी र काठमाडौंमा समातिएकाहरु पनि छुटेका छन्। तर, छुटेपछि पनि उनीहरुको परिचय भने अझै खुलाइएको छैन। परिचय खुलाउनेबारे राखिएको जिज्ञासामा कैलाली प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले माथिको आदेश भएकाले परिचय नखुलाइएको जनाए। दुई देशबीचको घटना भएकाले प्रहरीको माथिल्लो निकायले नै परिचय नखुलाउन भनेको उनको भनाइ छ। 

४६ लाख बढी नगद र गरगहना बरामद 
कैलाली प्रहरीले उक्त सुन चोर्ने गिरोहबाट ४६ लाख २८ हजार ४१८ रुपैयाँ नगद र गरगहना बरामद गरेको जनाएको छ। प्रहरीका अनुसार लामिछानेसहितको समूहबाट ८७ ग्राम सुन, १६६ ग्राम चादी, २ थान गहना–तिलहरी, १ थान श्रिफुल, ४ थान धातुका कडा, १ जोर झुम्का बरामद गरिएको हो। अब उक्त बरामद गरिएको नगद र गहना भारतीय दुतावासमार्फत फिर्ता गर्ने तयारी रहेको प्रहरीले बताएको छ। 

 
 

टेकसिंह धामी, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस