सुदूरपश्चिमका खरिदार र नासु पनि आन्दोलित, यस्ता छन् माग
धनगढी: सुदूरपश्चिम प्रदेशमा रहेका राजपत्रअंकित द्धितीय र प्रथम श्रेणीका निजामती कर्मचारी आन्दोलित भएका छन्। सरकारले ल्याउन लागेको संघीय निजामती सेवा ऐनमा कर्मचारीमैत्री प्रावधान राख्न माग गर्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन्।
निजामती सेवाको जगको रुपमा रहेका खरिदार र नासुलाई विभेद हुने खालको प्रवधान नयाँ ऐनमा नआओस् भनेर सुदूरपश्चिमसहित देशैभरका खरिदार र नासुहरू आन्दोलनमा रहेको त्रिनगर भन्सारका नायवसुब्बा जयबहादुर बुढाले बताए।
'संघीय निजामती सेवा ऐन ल्याउदा आफ्ना माग पूरा हुनुपर्ने भन्दै कर्मचारी आन्दोलित भएका छन्,' उनले भने, 'निजामती सेवा ऐन खरिदार र नायवसुब्बा मैत्री हुनुपर्ने भन्दै सुदूरपश्चिमका राजपत्रअनंकित कर्मचारीले पनि सांकेतिक आन्दोलन गरेका हुन्।'
संघीय निजामती ऐनमा कर्मचारीले उठाएका माग समेटिए प्रदेश निजामती सेवा ऐनमा ती कुरा स्वतः आउने छन्। संघीय निजामती सेवा ऐनमा राख्न खोजिएका प्रावधानलाई चनाखो भएर हेरिरहेको हो। उनीहरुले राजपत्रअंकित कर्मचारी संरक्षण अभियान नै चलाएर सरकारलाई खबरदारी गर्दै आएका हुन्। कर्मचारीले निरन्तर पेशागत हक हितका लागि आन्दोलन गरिरहेको राजपत्रअनंकित कर्मचारी संरक्षणका अभियन्ता प्रकाश भट्टराईले बताए।
'नयाँ आउने निजामती सेवा ऐनमा तहगत प्रणाली लागु हुनुपर्ने माग हामीहरूको छ,' उनले भने, 'यस्तै चक्रिय सरुवा प्रणाली र खरिदार तथा नासुले पनि उपसचिव र सहसचिवमा प्रतिस्पर्धा गर्न पाउने व्यवस्था राख्ने प्रावधान नयाँ ऐनमा होस् भन्ने हाम्रो माग छ।'
खरिदार तथा नायब सुब्बाहरूले निजामती सेवामा तहगत प्रणाली लागू हुनुपर्ने माग राखेका हुन्। यस्तै अब आउने निजामती सेवा ऐनमा शाखा अधिकृत पदमा ३० प्रतिशत बढुवा र २० प्रतिशत आन्तरिक प्रतिस्पर्धाबाट पदपूर्ति हुने व्यवस्था राख्न माग राखेका छन्। शैक्षिक योग्यता भएका खरिदार तथा नायव सुब्बाले पनि उपसचिव र सहसचिवमा प्रतिस्पर्धा गर्न पाउने व्यवस्था राख्न आन्दोलन गर्नुपरेको कर्मचारीले बताएका छन्।