सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको सार्वजनिक व्यायाम केन्द्रमा योग समितिको कब्जा

२०७९ साउन २४, ०४:४३ खबर संवाददाता

धनगढी: धनगढी उपमहानगरपालिका वडा नम्बर ८ को वडा कार्यालय परिसरमा रहेको व्यायाम केन्द्रमा योग समितिले कब्जा जमाएको भन्दै स्थानीयले गुनासो गरेका छन्। मुख्य सडकसँगै जोडिएको व्यायाम केन्द्रमा गत भदौंबाट योग गर्न थालेकोे पतञ्जली योग समितिले खुला ठाउँमा सुरुमा टहरा बनाएका थिए। त्यसपछि यो वर्ष टहरालाई टिनले बेरेर बन्द गरेका छन्।

व्यायाम गर्न आउनेलाई बस्न र पानी पर्दा र घाम लाग्दा ओत लाग्न टहरा उपयुक्त हुने भए पनि योग समितिले ताला लगाउन थालेकोले सार्वजनिक प्रयोगमा बाधा पुगेको वडा कार्यालयले बताएको छ। वडा अध्यक्ष जुगराम चौधरीले योग समितिले खुला व्यायाम गर्न छुट्याइएको ठाउँलाई ताला लगाएर बन्द गर्दा स्थानीयको गुनासो आएको बताएका छन्।

‘वडा कार्यलयसँग जोडिएको व्यायाम केन्द्रमा रहेको टहरा बन्द गर्ने अनुमति वडाले दिएको छैन,’ उनले भने, ‘तर योग समितिले बन्द गरेर जाने गर्दा गुनासो बढेको हो, स्थानीयले शितलमा बस्न त्यो ठाउँ खुला छोड्नुपर्ने माग गरेका छन्।’
यता योग समितिले भने वडा कार्यालयसँगै मौखिक सहमति लिएर टहरामा टिनले बेर्ने काम गरिएको जनाएको छ। योग साधक रामबहादुर केसीले कार्पेट लगायत सामानको सुरक्षा होस् भनेर टहरामा ताला लगाउन थालेको बताए।

‘हामीले वडासँग गत वर्ष नै मौखिक सहमति लिएका हौँ, पानी र लामखुट्टेले योग गर्दा समस्या हुँदा टिनले बेरेका हौँ’, उनले भने, ‘टहराको एउटा साँचो वडा कार्यालयमा पनि दिएका छौँ, सार्वजनिक प्रयोगका लागि उहाँहरूले प्रयोग गर्न सक्नुहुन्छ, हामीले कब्जा गरेका होइनौँ।’

तर स्थानीयबासीले भने खुला क्षेत्र प्रयोगमा कुनै पनि बाहनामा कसैले पनि रोकटोक नलगाउनुपर्ने माग गरेका छन्। योग समितिले टहरामा ताला लगाउनु भनेको सार्वजनिक सम्पतिमा कब्जा गर्न खोज्नु हो भन्ने स्थानीयको दाबी छ।

कमेन्ट लोड गर्नुस