कैलालीमा निर्माण व्यवसायीबीच होटलमा लफडा, पाँच जना पक्राउ
धनगढीः कैलालीको घोडाघोडी नगरपालिका क्षेत्रमा निर्माण व्यवसायीबीच भएको झगडामा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
घटना घोडाघोडी नगरपालिका–१ सुखडस्थित दहित होटल एण्ड रेष्टुरेन्टमा आइतबार राति करिब १२ बजे मदिरा सेवनपछि भएको हो। प्रारम्भिक जानकारी अनुसार निर्माण व्यवसायी तथा अन्य व्यक्तिहरूबीच सामान्य विवादले उग्र रूप लिँदै कुटाकुटको अवस्था सिर्जना भएको थियो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार घटनामा संलग्न पाँच जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका–५ का ४८ वर्षीय निर्माण व्यवसायी शिव कुँवर, २६ वर्षीय सनेश थापा, घोडाघोडी नगरपालिका–८ का ३२ वर्षीय लालबहादुर चौधरी, सोही नगरपालिका–१० का ३३ वर्षीय सुरेश चौधरी र बर्दगोरिया–५ का २७ वर्षीय राम भट्ट रहेका छन्।
त्यसैगरी घटनास्थलमा सुखडका निर्माण व्यवसायी धनन्जय कठायतसहितका व्यक्तिहरू होटलमा खाजा खाइरहेका बेला विवाद चर्किएको बताइएको छ। झडपका क्रममा कठायतमाथि कुटपिट भएको र प्रारम्भिक चरणमा प्रहरीले उनलाई पनि नियन्त्रणमा लिएको जनाइएको छ।
प्रहरीका अनुसार मदिरा सेवनपछि उत्पन्न विवाद नियन्त्रणमा लिन पुगेका सुरक्षाकर्मीमाथि समेत केही व्यक्तिबाट दुर्व्यवहार भएको पाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।