सुदूर नेपाललाई विश्वसँग जोड्दै

एक वर्षमा सुदूरपश्चिमबाट १३ सय बढी बेपत्ता, महिला बालबालिका मात्रै १०९४ जना

२०७९ साउन २३, १०:४६ रक्षा भट्ट

धनगढी: सुदूरपश्चिममा एक वर्षको अवधिमा १३ सय बढी मानिस हराएका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार प्रदेशभर आर्थिक वर्ष २०७८/०७९ मा हराउनेको संख्या एक हजार ३ सय ३० रहेको छ। जसमध्ये महिलाको संख्या सबैभन्दा बढी ७७० रहेको छ। त्यसपछि हराएका बालिकाको संख्या पनि बढी छ। प्रदेशमा एक वर्षको अवधिमा ३२४ जना बालिका हराएका छन्। त्यस्तै, १८४ जना बालक, ३८ जना पुरुष र १४ जना ज्येष्ठ नागरिक बेपत्ता भएका छन्। 

तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा सबैभन्दा बढी कैलालीबाट हराएका छन्। कैलालीबाट मात्रै ५५७ जना हराएका हुन्। जसमा महिलाको संख्या बढी छ। ३४८ जना महिला, १३८ बालिका, ६९ बालक र २ जना ज्येष्ठ नागरिक हराएका छन्। बेपत्ता हुने पुरुषको संख्या भने शून्य छ। 

त्यसैगरी कञ्चनपुरबाट ३४६ जना बेपत्ता छन्। कञ्चनपुरबाट हराउनेमा पनि महिलाकै संख्या बढी छ। १९७ जना महिला, बालिका ९६ जना, बालक ४५ र ज्येष्ठ नागरिक ८ जना बेपत्ता भएका छन्। जिल्लामा बेपत्ता पुरुषको संख्या भने शून्य नै छ।

उता दार्चुलामा ७८ जना हराएका छन्। महिला ३४, बालिका २२, पुरुष र बालक ११/११ जना हराएका छन् भने बेपत्ता ज्येष्ठ नागरिकको संख्या शून्य छ।  अछामका ७४ जना हराएका छन्। जसमा ३२ जना महिला, २४ बालिका, १४ बालक, पुरुष ३ र एक जना ज्येष्ठ नागरिक रहेका छन्। त्यस्तै बाजुराका २३ जना महिला, २१ बालक, १५ बालिका र १३ जना परुष गरी ७२ जना बेपत्ता छन्।

बझाङका ४० महिला, १२ बालक, ८ बालिका र ३ जना ज्येष्ठ नागरिक गरी ६३ जना हराएका छन् भने बेपत्ता पुरुषको संख्या शून्य छ। बैतडीका ३७ महिला, १४ बालिका, ६ बालक र ३ पुरुष गरी ६० जना हराएका छन्। बेपत्ता ज्येष्ठ नागरिकको संख्या भने जिल्लामा शून्य छ। 

त्यसैगरी डडेल्धुराका ४८ जना हराएका छन्। ३६ जना महिला, ५ पुरुष, ५ बालक र २ जना बालिका हराएका छन्। डडेल्धुरामा पनि बेपत्ता ज्येष्ठ नागरिकको संख्या शून्य छ। सबैभन्दा कम संख्यामा डोटीबाट मानिस बेपत्ता भएका छन्। अन्य जिल्लाको तुलनामा हराएका तथा बेपत्ता भएकाको संख्या जिल्लामा कम रहेको पाइएको हो। जिल्लाका २३ जना महिला, ५ बालिका, ३ पुरुष र एक जना बालक बेपत्ता छन्। डोटीमा पनि बेपत्ता ज्येष्ठ नागरिकको संख्या शून्य नै छ।

यसरी प्रहरीको तथ्याङ्कलाई हेर्दा प्रदेशभर हराएका महिलाको संख्या सबैभन्दा बढी र ज्येष्ठ नागरिकको संख्या सबैभन्दा कम रहेको पाइएको छ। प्रदेशमा महिला र बालिकाको हराउने संख्या उच्च छ। कैलाली, कञ्चनपुर र बझाङका एक जना पनि पुरुष बेपत्ता नभएका अर्थात यी तीन जिल्लामा बेपत्ता पुरुषको संख्या शून्य छ भने दार्चुलाका सबैभन्दा बढी पुरुष बेपत्ता भएका तथ्याङ्कमा उल्लेख छ। त्यस्तै यी तीन जिल्लाका बेपत्ता भएका महिला र बालबालिकाको संख्या अन्य जिल्लाभन्दा उच्च छ। 

हराएकाहरुमध्ये १ हजार २५ जना फेला परेका छन्। जसमा ५५४ जना महिला, बालिका २७३ जना, बालक १६० जना, पुरुष २९ जना र ज्येष्ठ नागरिक ९ जना फेला परेका छन्। कैलालीका ४४६ जना, कञ्चनपुरका २३३, दार्चुलाका ७५, अछामका ७०, बझाङका ५८, बाजुराका ५७, डडेल्धुराका ४२, बैतडीका ३३ र डोटीका ११ जना फेला परेका हुन्। 

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भोला रावलका अनुसार धेरैजसो कामको शिलशिलामा भारत वा अन्यत्र जाँदा हराउने तथा सम्पर्कविहीन हुने गरेका छन् भने कतिपय महिला तथा बालिकाहरु भागेर बिहे गर्ने गरेका छन्। कतिपय अवस्थामा उनीहरु भेटिएपछि बिहे गरी वा गर्नका लागि भागेको पाइने गरेको उनले बताए। 

हराएकाहरु आफन्तले भेटाइसकेपछि वा सम्पर्कमा आइसकेपछि जानकारीमा नआउने गरेको उनीबताउँछन्। यद्यपी प्रहरीमा हराएको जानकारी आएको १५/२० दिनमा भेटिए/नभेटिएको बारे परिवारबाट जानकारी लिने गरेको प्रवक्ता रावलले बताए। हराएका आफन्त भेटिइसकेको जानकारी प्रहरीमा नगराउँदा तथ्याङ्क यकिनमा भने प्रभाव पर्ने देखिएको छ। 

रक्षा भट्ट दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछिन्।

कमेन्ट लोड गर्नुस