सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा उकालो लाग्दै कोरोना संक्रमण, कस्तो छ सरकारको तयारी ?

२०७९ साउन २१, ११:४० रोशन भट्ट

धनगढीः सुदूरपश्चिममा तेस्रो लहरको कोरोना संक्रमणपछि शुन्यमा झरेको संक्रमण फेरि उकालो लाग्न थालेको छ। साउन १ गतेदेखि २० गते बिहानसम्मको तथ्यांक अनुसार कोरोना भाइरसका कारण एक जनाको मृत्यु भएको  छ भने ६१ जना सक्रिय संक्रिमत रहेका छन्। 

यसरी कोभिड संक्रमण उकालो लाग्न थालेपछि प्रदेशमा फेरि विगतकै अवस्था दोहोरिन्छ की भन्ने चिन्ता आइलागेको छ। पहिलोदेखि तेस्रो लहरसम्मको कोरोना नियन्त्रणमा पूर्णतया सफल हुन नसकेको प्रदेश सरकारलाई फेरि चुनौती थपिने संकेत देखिएको छ। विगतमा समुदाय स्तरमा संक्रमण फैलिने जोखिम नियन्त्रण गर्न नसकेको प्रदेश सरकारलाई अहिलेको संक्रमणले समस्या पार्ने देखिएको हो। 

सामाजिक विकास मन्त्रालयका सचिव दीपक लामिछाने भने कोभिड नियन्त्रणका लागि प्रदेश सरकार तयारीमा जुटिसकेको बताए। ‘हामीले नियमित गर्ने काम गर्दै आएका छौं। खोपलाई विशेष जोड दिएका छौं,’ उनले भने। 

कोरोना संक्रमणलाई नै केन्द्रित गरेर सुदूरपश्चिम प्रदेश सरकारले २० वटा भेन्टिलेटर खरिद गरेको थियो। प्रदेशका विभिन्न अस्पतालका लागि खरिद गरिएका उक्त भेन्टिलेटरहरु सबै जिल्लामा दुई वर्षसम्म पनि सञ्चालन हुन सकेका छैनन्। जिल्ला अस्पताल बाजुराका लागि खरिद गरिएका दुई वटा भेन्टिलेटर मेसिनका सबै सामानसमेत नपुगेको अस्पतालले जनाएको छ। उक्त उपकरणका सामान पुगेपछि मात्रै जडान हुने र त्यसपछि सञ्चालन गरिने बताइएको छ। 

उक्त अस्पतालमा भेन्टिलेटर सञ्चालन गर्नका लागि जनशक्तिको समेत अभाव रहेको छ। अहिले बाजुरमा केही समस्या देखिने सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर जगदिश जोशीले पनि बताए। ‘भेन्टिलेटर सञ्चालन गर्नका लागि बाजुरामा केही समस्या देखिन सक्छ,’ उनले भने, ‘अन्य जिल्लामा हाम्रो तयारी पूरा भइसकेको छ।’

सुदूरपश्चिमका १० अस्पतालमा हालसम्म ४८ वटा मात्रै आईसियू बेड छन्। भने, ५० वटा भेन्टिलेटर मेसिन सोही १० वटा अस्पताललाई उपलब्ध गराइएको छ। कोभिड–१९ का लागि भने छुट्टै ३५ वटा भेन्टिलेटर मेसिन रहेको बताइएको छ। जसमा सेती प्रादेशिक र टीकापुर अस्पतालमा ८/८ भेन्टिलेटर रहेका छन्। यस्तै डडेल्धुरा अस्पतालमा ५ वटा भेन्टिलेटर छन्। महाकाली, दार्चुला, बैतडी, बझाङ, डोटी र अछाममा  भने २/२ मेसिन जडान गरिएको छ। 

बाजुरा बाहेक अन्य जिल्ला अस्पतालमा मेसिन उपलब्ध भएपनि सञ्चालन गर्ने जनशक्ति भने प्रर्याप्त छैन। विगतमा निर्देशनालयले केही स्वास्थ्यकर्मीलाई तालिम उपलब्ध गराएको भएपनि उनीहरुमध्ये केही सरुवा भएर गइसकेका छन्। 
त्यसकारण प्रदेश सरकार कर्मचारी व्यवस्थापनको तयारीमा लागेको सामाजिक विकास मन्त्रालयका सचिव लामिछानेले बताए। ‘तालिम लिएका केही कर्मचारीको सरुवा अथवा केहीले काम नै छोडेका छन्,’ उनले भने, ‘सरकार दक्षजनशक्ति व्यवस्थापनामा लागेको छ।’ 
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस