सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीका वनबाट तीन लाख किलो जडीबुटी निकासी

२०७९ साउन २०, ०८:४२ खबर संवाददाता

बैतडीः बैतडीका सामुदायिक वन र निजी वनबाट तीन लाख ५६ हजार किलो जडीबुटी निकासी भएको छ। जडीबुटी निकासीबाट एक वर्षको अवधिमा १२ लाख रुपियाँ बढी राजस्व सङ्कलन भएको छ। आर्थिक वर्ष २०७८/७९ मा डिभिजन वन कार्यालय बैतडीले जडीबुटी, सल्लाको खोटो र वन पैदावर निकासीबाट १२ लाख ७० हजार ९८६ रुपियाँ राजस्व सङ्कलन गरेको हो।

डिभिजन वन कार्यालय बैतडीको तथ्याङ्कअनुसार रिठ्ठा, पाखनवेद, टिमुर, अमलालगायतका जडीबुटी तीन लाख ५६ हजार ५५५ किलो, सल्लाको खोटो दुई लाख २० हजार ६३० किलो निकासी भएको थियो। सोबापत १० लाख २१ हजार ६२० रुपियाँ राजस्व सङ्कलन भएको जनाइएको छ। वन क्षेत्र भएर जाने चमेलिया जलविद्युत् आयोजनाबाट दुई लाख ११ हजार ७९० रुपियाँ राजस्व दाखिला भएको डिभिजन वन कार्यालय प्रमुख भीमप्रसाद कँडेलले जानकारी दिए। उनका अनुसार वन क्षेत्र भएर जाने चमेलिया जलविद्युत्का तार लगेबापत वनलाई राजस्व प्राप्त हुने गरेको छ।

बैतडीमा रिठ्ठा, अमला, टिमुर, गुच्चे च्याउ, चेजपत्ता, दालचिनी, सुगन्धवाल, पाँचऔँले, झ्याउलगायत ६५ भन्दा बढी जडीबुटी रहेको तथ्याङ्क छ। यहाँ संरक्षित वनबाहेक जिल्लामा ३७२ सामुदायिक वन रहेका छन्। 

कमेन्ट लोड गर्नुस