सुदूर नेपाललाई विश्वसँग जोड्दै

चीनको सैन्य अभ्यासका कारण ताइवानबाट हुने ५० बढी उडान रद्द

२०७९ साउन २०, ०५:५२

एजेन्सी: चीनको सैन्य अभ्यासका कारण ताइवानबाट हुने र ताइवानका लागि हुने हवाईजहाजका उडान रद्द भएका छन्। सैन्य अभ्यासका कारण बिहीवार ५० भन्दा धेरै उडान रद्द गरिएको ताइवानको ताओयुवान अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।

ताइवान जाने २६ र ताइवानबाट प्रस्थान गर्ने २५ वटाभन्दा धेरै उडान रद्द भएका छन्। कोरियन र एसियाना एअरलाइन्सले अर्को सूचना जारी नभएसम्मका लागि ताइवानमा हुने उडान रद्द गरेका छन्। चीनले ताइवान वरपर अहिलेसम्मकै ठूलो सैन्य अभ्यास गरिरहेको छ। उसले कैयौँ ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ भने अत्याधुनिक हतियार र उपकरणको पनि प्रयोग भएको छ।

चीनको कडा विरोध र चेतावनीकै बीच अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीले गएको मङ्गलवार र बुधवार ताइवानको भ्रमण गरेपछि चीन आक्रोशित छ। चीनले आगोसँग खेल्नेहरूको अन्त्य निश्चित भएको प्रतिक्रिया दिएको छ। 

कमेन्ट लोड गर्नुस