सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा निर्माण सम्झौता सकिएको ७ वर्षसम्म बनेन पुल, कामदारले पाएनन् ज्याला

२०७९ साउन १३, ०३:०७ खबर संवाददाता

इन्दु धामी, कञ्चनपुर:  कञ्चनपुरको बंक–नायल–बुडर सडकखण्ड अन्तरगत ओदाल खोलामा सम्झौता सकिएको ७ वर्ष बितिसक्दा समेत पुल निर्माण हुन सकेको छैन।  पुल निर्माणको जिम्मा पाएको थेगिम गाल्वा कन्स्ट्रक्सनले समयमै काम सम्पन्न नगर्दा पुल निर्माण कार्य अलपत्र परेको हो।

२०७३ भदौ १७ मा ठेक्का सम्झौता भएको पुल निर्माणको काम २०७४ चैत १५ मा सक्नुपर्ने समयावधि भएपनि सम्झौता सकिएको ७ वर्ष बित्दासमेत काम सकिएको छैन। निर्धारित समयमा पुलको ४५ प्रतिशत मात्रै निर्माण कार्य सकिएपछि नदीमा सहज आवतजावत हुने अपेक्षा गरेका स्थानीय आक्रोशित बनेका छन्।   निर्माणको जिम्मा पाएको थेगिम गाल्वा कन्स्ट्रक्सनले समयमै काम नगर्दा निर्माण कार्य अलपत्र परेको उनीहरुले बताएका छन्। स्थानीय शुनिल भण्डारीले पुल निर्माणमा चरम लापरबाही भएको बताए। खोलामा पुल नहुँदा बर्सातको समयमा आवतजावत गर्न समस्या भोग्दै आएको उनले बताए। 

पुल नहुँदा बर्खायाममा कृष्णपुर नगरपालिकाको–१ दोमिल्लाका स्थानीय वर्षौदेखि समस्या भोग्दै आएका छन्। हिउँदमा गाडी जाने बाटो भएपनि वर्षायाममा भने पक्की पुल नहुँदा जोखिम मोलेर खोलाको बाटो हुँदै यात्रा गर्नुपरेको  स्थानीय भण्डारीले बताए। ‘पुल नहुँदा स्थानीयवासीलाई आवतजावत गर्न, स्थानीय उत्पादन ओसारपसार गर्न, विद्यालय र स्वास्थचौकी जान समेत अप्ठ्यारो पर्ने गरेको छ,’ उनले भने, ‘पुल निर्माणको लागि पटक–पटक पहल गर्दा समेत कुनै सुनुवाई भएन।’ बर्सातमा सबैभन्दा समस्या विद्यार्थीहरुलाई हुने शुनिल भण्डारीले बताए। 

अर्का स्थानीय ढुन्डीराज भण्डारीले खोलामा निर्माण भइरहेका दुवै पुल अलपत्र रहेको बताए। उनले आफूहरुले पटक–पटक खबरदारी गर्दा पनि निर्माण कार्यले गति लिन नसकेको बताएका छन्। जनप्रतिनिधिले समेत चाँसो नदिँदा निर्माण कार्य अलपत्र परेको स्थानीहरुको आरोप छ। 

उता कृष्णपुर वडा वडा नम्बर १ का अध्यक्ष मोहनबहादुर बस्नेतले पुल निर्माणबारे आफूलाई कुनै जानकारी नभएको बताएका छन्। उनले भने, ‘पुल निर्माण कहिले सम्पन्न हुन्छ, मलाई कुनै जानकारी छैन।  खोलामा एक दुईजना काम गर्ने व्यक्ति मात्रै देख्छु।’  अध्यक्ष बस्नेतले खोलामा पुल नहुँदा स्थानीयले बर्सातमा दुःख भोगीरहेको बताए। उनले केही समय एक/दुई कामदार देखे पनि अहिले बर्सातको समयमा पुल निर्माणको काम ठप्प रहेको जानकारी दिए।  उनी भन्छन्, ‘गाउँमा आएका योजनाको बारेमा पनि मलाई कुनै जानकारी हुँदैन।’  

७ वर्षमा ओदाल खोलापुलको ५० प्रतिशत काम हुन सकेको छैन। प्रदेश सरकारले बजेट नपठाउँदा ठेकेदार कम्पनीले मजदुरको २ वर्ष अगाडिको ज्याला पनि नदिएको एक मजदुरले बताए। ‘ठेकेदारले दुई वर्ष अगाडिको ज्याला दिएको छैन। कोरोनाका बेला लकडाउनले गर्दा यहाँ धेरैले काम गरेको पैसा समेत पाएका छैनन्’ उनले भने। 

डिभिजन सडक कार्यालय कञ्चनपुरले भने ठेकेदार कम्पनीलाई कालो सूचीमा राखेर कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ। कार्यालयका अनुसार ओदाल खोलामा ६२ मिटर लामो बन्नुपर्ने पुलको ४५ प्रतिशत मात्रै कार्य प्रगति छ।  ३०/३० मिटरका दुईवटा स्पान बनाउनपर्ने पुलमा गत फागुनमा भने एउटा निर्माण भएको थियो।

तर त्यसपछि निर्माण कार्य अघि नबढेको  सडक डिभिजनका कार्यालय कञ्चनपुरका सूचना अधिकारी पियूष चटौतले बताए।  उनले निर्माण कम्पनीलाई काम गर्न पटक–पटक पत्राचार र पत्रिकामा सूचना प्रकाशित गरेको बताए। ‘तोकिएको समयमा काम सम्पन्न नभएपछि निर्माण कम्पनीलाई हर्जाना तिराएका छौँ’ उनले भने।  

सूचना अधिकारी चटौतले निर्माण कम्पनीले चैतभित्र निर्माण सम्पन्न गर्ने प्रतिवद्धता जनाएको बताएका छन्। उनका अनुसार ओदाल खोलामा पुल निर्माण गर्न ५ करोड ४७ लाख ६ हजारमा थेगिम गाल्वा कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता भएको थियो। 

कमेन्ट लोड गर्नुस