सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको पञ्चेश्वरमा भत्ता बुझ्न सास्ती, ‘पैसा छैन’ भन्दै फर्काइदिन्छ बैंक

२०७९ साउन १२, ०६:२८ विन्दु चन्द

धनगढीः  बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ का ६५ वर्षीय मोहन औजी ८ गते सामाजिक सुरक्षा भत्ता बुझ्न वडा नम्बर ३ मा रहेको नबिल बैंक पुगे। साँझ भत्ता बुझेर घर फर्कने भन्दै उनी बैंक गएका थिए। तर, उनलाई  भत्ता लिएर फर्किन तीन दिन लाग्यो। बैंक उनको घरभन्दा ८ घण्टा बढीको दुरीमा छ। ८ घण्टा हिँडेर उनी भत्ता बुझ्न बैंक पुगेका थिए। तर बैंकमा सेवाग्राहीको भिड र रकम नभएका कारण उनले दुई दिन कुर्नुपर्‍याे। 

उनले भने, ‘साँझ फर्किन्छु भनेर गएको थिएँ। धेरै सास्ती खेप्नुपर्यो। वर्षातको समय, झन त्यसमा बैंकले अहिले पैँसा छैन भोलि आउनु भनेर फकाउने। दुइदिनसम्म सास्ती खेपेर बल्ल भत्ता बुझे। अनि तेस्रो दिन घर फर्के। 
घर फर्किँदा बाटोमा माथिबाट पहिरो खसेपछि उनी घाइते समेत भएको आफन्त सुनीता औजीले बताइन्। भत्ता पाएको रकम पनि आउजाउ गर्न र उपचारमै खर्च भएको उनले बताइन्। उनले भनिन्, ‘गाउँपालिकामा बैंक पुगेर हामीलाई झन समस्या भयो। पहिले घरघर मै आएर भत्ता वितरण गरिन्थ्यो, सहज हुन्थ्यो। अब बुढापाकालाई झन् सास्ती बढ्यो।’ स्थानीय सरकार भएपनि सास्ती खेप्नुपर्ने बाध्यता रहेको गुनासो उनको छ। 

पञ्चेश्वर गाउँपालिकामा सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्ता बुझ्न सेवाग्राहीहरुलाई यस्तै सास्ती भइरहेको छ। गाउँपालिकामा एक मात्र बैंक हुँदा सास्ती खेप्नुपरिरहेको गुनासो गरिएको हो। बैंक पनि सबैको पायक पर्ने ठाउँमा छैन। जसकाकारण वडा नम्बर ३ बाहेक १, २, ४, ५ र ६ नम्बरका सेवाग्राहीहरुले सास्ती खेप्नुपरिरहेको छ। 

भत्ता बुझ्न ३/४ दिनसम्म सास्ती खेप्न बाध्य भएको वडा नम्बर ६ का रमेश भण्डारीले बताए। बल्लतल्ल बैंक पुगे पनि बैंकले पैसा नभएको भन्दै फर्काउने गरेको उनको गुनासो छ। उनले भने, ‘यहाँबाट बंैक पुग्न एक दिन लाग्छ। वृद्धवृद्धा र अपांगहरुलाई एकदमै समस्या भइरहेको छ।’ गाउँपालिकासँग सहजरुपमा भत्ता पाउन सकिने वातावरण मिलाइदिन आग्रह गर्दा पनि बेवास्ता गरेको उनको गुनासो छ। 

गाउँपालिका बैकसँग जोडिए पनि सेवाग्राहीले झन सास्ती खेप्नुपरिरहेको गुनासो वडा नम्बर ५ का रामबहादुर चन्दले बताए।  उनले भने, ‘एकदमै सास्ती छ। बाटो अप्ठ्यारो छ। एकल महिलाहरुलाई झन समस्या छ।’ 

बैंकमा सोवाग्राहीको एकदमै भिड लाग्ने गरेको नबिल बैंक कुलाउँ शाखाका इञ्चार्ज प्रेम चन्द बताउँछन्। ‘गाउँपालिकाबाट आउने बजेट पनि अन्तिम चरणमा आउँछ। बजेट डिपोजिट गर्न ७०/८० किलोमिटर हिँडेर सदरमुकाम जानुपर्छ। पैसा निकाल्ने मात्रै तर डिपोजिट नगर्ने भएकाले पनि कहिलेकाहीँ बैंकमा तलता अभाव हुन्छ’ उनले भने, ‘कसैलाई फर्काइएको छैन। समय लाग्छ तर सबैलाई रकम दिएर नै पठाउँछौँ। रकम नहुँदा हामीले पहिले नै सूचना गरिदिने गरेका छौँ। तर अधिकांंश सेवाग्राही आइदिने गरेका छन्।’ अहिले वडाअनुसार सेवा दिरहेको इन्चार्ज चन्दले बताए। 

गाउँपालिकाकी अध्यक्ष बिना भट्टले भने सहज रुपमा सेवा दिन बैंकसँग समन्वय गरिरहेको बताएकी छिन्। ‘बैंकमा कर्मचारी अभाव र सुरक्षाका दृष्टिकोणले घरघरमा गएर भत्ता दिन सक्ने अवस्था छैन। घरघरमै पुगेर कसरी सहज रुपमा भत्ता वितरण गर्न सकिन्छ भनेर समन्वय गरिरहेका छौँ’ उनले भनिन्, ‘बैंकसँग समन्वय गरेर सहजरुपमा सेवाग्राहीलाई सेवा दिनेछौँ।’

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस