कञ्चनपुरमा ५ वर्षीया बालिका बलात्कृत, ५५ वर्षीय पुरुष पक्राउ
धनगढी: कञ्चनपुरमा ५ वर्षीया बालिका बलात्कृत भएकी छिन्। जिल्लाको लालझाडी गाउँपालिका-२ कञ्जकी ५ वर्षीया बालिकामाथि बलात्कार भएको प्रहरीले बताएको हो।
ती बालिकामाथि बात्कार गरेको आरोपमा लालझाडी-२ कै कसुवाका ५५ वर्षीय रामदत्त राना पक्राउ परेका इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ। पीडित परिवारले सोमबार दिउँसो करिब १२ बजेतिर बलात्कार भएको भनी मौखिक जानकारी गराएको प्रहरीले बताएको छ।
त्यसलगत्तै रानालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताए। रानालाई अहिले इप्रका बेलौरीको थुनामा राखिएको उनले बताए। पक्राउ परेका राना ती बालिकाका हजुरबुवा नाता पर्ने बताइएको छ। उनी त्यहाँका 'भगत' पनि हुन्।
पाहुना बनेर ९ गते बालिकाको घर गएका उनले घरमा कोही नभएका बेला करणी गरेको आरोप छ। बालिकालाई स्वास्थ्य परीक्षणका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल पठाइएको प्रहरीले बताएको छ।