कञ्चनपुरको कृष्णपुरमा करारका कर्मचारीलाई ऐनविपरीत ३ लाखभन्दा बढी महंगी भत्ता
धनगढी: कञ्चनपुरको कृष्णपुर नगरपालिकाले ऐनविपरीत करारका कर्मचारीलाई तीन लाखभन्दा बढी रकम वितरण गरेको देखिएको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७५ को दफा २४ मा खर्च गर्ने कार्यविधि र मापदण्डअनुसार कुनैपनि सार्वजनिक निकायले खर्चको लेख्दा खर्चको सीमाभित्र रहेर मात्र लेख्नुपर्ने व्यवस्था छ।
स्वीकृत दरबन्दीको सीमाभित्र प्राविधिक कर्मचारीहरु मात्र करारमा राख्न पाउने व्यवस्था छ। कृष्णपुर नगरपालिकाले भने विभिन्न प्राविधिक तथा कार्यालय सहयोगी समेत गरी ३३ करारका कर्मचारीलाई राखेर ३ लाख १२ हजार ऐनविपरीत मंहगी भत्ता भन्दै भुक्तानी गरेको देखिएको हो। स्वीकृत दरबन्दीभित्रको करार कर्मचारी भए/नभएको एकिन गर्न समेत नसकिने अवस्थामा ऐनविरीत मंहगी भत्ताको नाममा सो रकम भुक्तानी गरिएको छ।
त्यस्तै अर्थमन्त्रालयको कार्य सञ्चालन निर्देशिकाको परिच्छेद ७ को ७.४.१ अनुसार अतिरिक्त समय र विदाको दिन काम गर्दा अर्थमन्त्रालयबाट स्वीकृत गराई खाजा र खानाबाफत भुक्तानी दिनुपर्ने तथा प्रोत्साहन भत्ता खुवाउन समेत स्वीकृत लिनुपर्ने र इ–हाजिरी अनिवार्य हुनुपर्ने व्यवस्था छ।
तर नगरपालिकाले स्वीकृत नलिई तथा इ–हाजिरी अभिलेख समेत नराखेर २६ लाख ४७ हजार ८५० रुपैयाँ खर्च गरेको पाइएको छ। जुन प्रचलित ऐन र उल्लेखित निर्देशिका विपरीत गएर भुक्तानी गरिएको खर्च रकम हो।