सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा अटो आतंक ! पैदल हिँडन डराउँछन् नागरिक

२०७९ साउन ७, ०३:४६ नारायण अवस्थी

धनगढी: कैलालीको धनगढीमा ई–रिक्साको संख्या अत्यधिक हुँदा सडक प्रयोग गर्न सास्ती हुन थालेको छ। आवश्यकता र सडकको क्षमताभन्दा बढी ई–रिक्साका कारण धनगढीको बजार क्षेत्र अस्तव्यस्त हुन थालेको गुनासो बढ्न थालेको छ। 

पूराना तथा यात्रु खोज्न तीव्र गतिमा सडकमा हुइकिने अटो रिक्साका कारण सहरी क्षेत्रमा दुर्घटना हुने दर बढेको सरोकारवालाले बताएका छन्। सडकमा एक रिक्साले अर्को रिक्सा उछिन्न खोज्ने प्रवृत्तिका कारण सडक प्रयोग सहज नभएको सेती अस्पताल नजिक भेटिएका रामललन रानाले बताए। ‘सडकमा मान्छेभन्दा अटो बढी छन्, बाटो काट्न निकै मुस्किल हुन्छ,’ उनले भने, ‘धनगढीमा साइकल चलाउन र पैदल हिड्न डर लाग्न थालेको छ।’ 

गत वर्षदेखि ई–रिक्सा सञ्चालन र व्यवस्थापन गरिनुपर्ने आवाज उठ्न थालेको छ। ई–रिक्साको संख्या आवश्यकताभन्दा बढी भएकोले धनगढीको बजार क्षेत्र अस्तव्यस्त हुन थालेको धनगढीको लक्ष्मीनारायण चोकमा भेटिएका रमेशप्रसाद जोशीको बुझाइ छ। ‘धनगढीमा रिक्सा व्यवस्थापन हुनुपर्छ। रुट अनुसार रिक्सा सञ्चालन हुनुपर्यो,’ उनले भने, ‘अत्यधिक रिक्साको कारण लक्ष्मीनारायण चोकमा दैनिक रिक्सा ठोक्किने, दुर्घटना हुने गरेको छ।’

धनगढीको सडकमा चढ्ने यात्रुभन्दा ई–रिक्साको संख्या निकै बढी भएको जुगेडाका सुरज चन्दको भनाइ छ। बजार क्षेत्र अटोमय भएका कारण आवागमन नै असहज हुने गरेको उनको अनुभव छ। अटोरिक्साको नियमन र व्यवस्थापन गर्न सरोकारवाला पक्षले काम गर्नुपर्ने चन्दले बताए। ‘अटोका कारण बजारमा हिँड्न समस्या हुने गरेको छ। नियमन गरेर अटो सञ्चालनमा ल्याउनुपर्छ नत्र बजार क्षेत्र सधैं अस्तव्यस्त रहने देखिन्छ’ उनले भने। 

धनगढी उपमहानगरपालिका वडा नम्बर १३ मोहनपुरका प्रदीप भट्टले पनि धनगढीमा ई–रिक्साको संख्या अत्यधिक हुँदा दुर्घटनाको जोखिम बढेको बताए। ब्रेक नलाग्ने, साइड लाइट र लुकिङ ग्लास नभएका रिक्साका कारण जुनसुकै समयमा सडक दुर्घटना हुने जोखिम रहेकोले ई–रिक्सा नियमनमा कडाई गर्नुपर्ने भट्टको सुझाव छ। ‘रिक्साहरूको साइड लाइट र लुकिङ ग्लास हुन्न, ब्रेक पनि नलाग्ने हुन्छ,’ उनले भने, ‘सवारी खोज्न बसको पछाडि एकोहोरो कुद्छन्, बाटो पनि दिन्नन्। अटो नियमन गर्नु जरुरी छ।’

अटोरिक्साको कारण ट्राफिक व्यवस्थापनमा चुनौति थपिएको ट्राफिक प्रहरीको अनुभव छ। लाइसेन्स नभएका व्यक्ति र निकै धेरै संख्यामा अटो रिक्सा जहाँ पनि सञ्चालन गर्ने पारीपाटीले सडक क्षेत्र असुरक्षित भएको प्रहरीले बताएको छ। ई–रिक्सा सञ्चालन र व्यवस्थापन गर्न स्थानीय सरकारले आवश्यक कानून बनाएर लागू गर्नुपर्ने र त्यो कानूनको पालना गर्न गाराउन ट्राफिक प्रहरी प्रतिवद्ध रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रविण धितालले बताए।

‘स्थानीय तहले अटोको संख्या र सञ्चालनको  मापदण्ड तोक्नुपर्छ, जसले गर्दा नियम पालन गराउन सहज हुन्छ,’ उनले भने, ‘अहिलेसम्म जथाभावी जति पनि संख्यामा रिक्सा सडकमा गुडिरहेको अवस्था छ। स्थानीय तहले नियम बनाए हामीलाई पनि त्यो लागू गराउन सहज हुन्थ्यो।’

यातायात व्यवस्था कार्यालय धनगढीमा मात्रै ५ हजार बढी ई–रिक्सा दर्ता भएका छन्। दर्ता भएको संख्याको करिब ८० प्रतिशत रिक्सा धनगढीको सडकमा गुड्ने अनुमान गरिएको छ। 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस