बैतडीको सुर्नयाका ६ घर पहिरोको उच्च जोखिममा
धनगढी: बैतडीको सुर्नया गाउँपालिका-३ का ६ ओटा घर पहिरोको उच्च जोखिममा रहेका छन्। शाखा सडकका कारण वडाको बाँस गैरीगडा भन्ने ठाउँमा ६ जना स्थानीयका घरहरु पहिरोको उच्च जोखिममा परेका बताइएको छ।
स्थानीय डम्बरसिंह विष्ट, झिमा विष्ट, तुलसी विष्ट, हरिभान विष्ट, दानसिंह विष्ट र खेरै विष्टको घर पहिरोको जोखिममा परेका बताइएको छ। शाखा सडकमाथि रहेका घरहरु अहिले पहिरोले भत्किने अवस्थामा पुगेका स्थानीय पार्वती विष्टले बताइन्।
रोड विस्तारका क्रममा घर जोखिममा पर्ने भन्दै हारगुहार गरेपनि कसैले नसुनेर मनमर्जिले सडक काट्दा अहिले पहिरोको जोखिम बढेको स्थानीयको गुनासो छ। सम्बन्धित निकायलाई वालको लागि पटक पटक माग गरेपनि सुनवाई नभएको स्थानीयहरुले बताए। गैरी गाउँका स्थानीय पहिरोको त्रासमा छन्।