धनगढी राजघाट जोड्ने मोहना नदीको पुल पाँच बर्ष हुँदा पनि नबन्ने संकेत
चर्चा बटुल्न अनुगमन गर्ने जनप्रतिनिधि र प्रदेश सरकारले दबाव नदिएको गुनासो
कञ्चनपुरको रैकवार विचुवालाई धनगढीसंग जोड्ने मोहना नदिको पुल निर्माण थालेको पाँच बर्ष हुन लाग्दा पनि नबन्ने संकेत देखिएपछि यो बर्षातमा पनि जोखिम मोल्नुपर्ने भन्दै स्थानीय वासिन्दा चिन्तित भएका छन् । पुल तेस्रो पटक थप गरिएको समयमा पनि नबने संकेत देखिएपछि यो बर्षामा समेत जोखिम मोल्नुपर्ने भन्दै स्थानीय चिन्तित भएका हुन्। ३ वर्षमा सम्पन्न गर्ने गरी पाँच वर्ष अघि निर्माण सुरु भएको पुलको ्तेस्रो पटक थपिएको समयमा समेत नबन्ने देखिएको छ । निर्माण व्यवसायीले अनेक वाहाना देखाउदै विगतमा झै सुस्त गतिमा काम गरिरहँदा समेत नियमकारी निकायले वेवास्ता गर्दा रैकवार विचुवा बासिन्दा चिन्तित बनेका छन् । स्थानीय वासिन्दाले चर्चा बटुल्न अनुगमन गर्ने प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीले समेत निर्माण व्यवसायीलाई काम छिटो सक्न दवाव दिन नसकेको र केही गर्न नसकेको आरोप लगाएका छन्।
कैलाली बहुमुखी क्याम्पसमा अध्ययन गर्दै आएकी कञ्चनपुरको राजघाटकी रिया विकले वर्षातका बेला नदीमा पुल नभएकै कारण कयौँ दिन क्याम्पस छुटाउनुपरेको थियो । पाँच वर्ष पहिले नदीमा पुल निर्माणको काम सुरु भयो त्यति बेला देखि उहाँ वर्षातका बेला सहजै आवातजावत गर्न सकिने भएकाले क्याम्पस छुट्दैन भन्दै दंग भईन् । तर निर्माण थालेको पाँच वर्षसम्म पनि नदीमा पुल नबनेपछि यो वर्षात पनि आपतमै बित्ने भन्दै उनी चिन्तित छन्। तेस्रो पटक थप गरिएको समयमा पनि मोहना पुल निर्माणको कामले गति नलिएपछि रिया मात्र होईन राजघाटबाट अध्ययनका लागि धनगढी आउने विद्यार्थी र अन्य स्थानीयलाई समेत यो बर्षातमा पनि धनगढी राजघाट जोखिममै आवतजावत गर्नुपर्ने भएकोले चिन्ता थपेको छ । पटक पटक सम्बन्धित निकायमा धाउदा समेत चन्द्र शेखर मल्ल सञ्चालक रहेको निर्माण कम्पनीलाई छिटो काम सक्न भन्दै ताकेता र दवाव नदिईएको गुनासो स्थानीयको छ। बरु उल्टै चर्चा बटुल्नका लागि अनुगमन गर्ने प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरु समेत त्यसपछि मौन बसेको आरोप लागेको छ।
पुल शिलान्यासका क्रममा ३६ महिना समयावधि तोकिएकोमा २४ महिनामै पुल निर्माण गरिसक्ने दावी गरेका निर्माण व्यवसायी चन्द्र शेखर मल्लले भने अनेक कारण देखाउदै ५ वर्षसम्म पुल निर्माणको काम अधुरै छ। अहिले आएर पुलको विम हाल्न सुरु गरेका मल्लले एक दिन काम गर्ने अर्को दिन छोड्ने गरेका कारण आउँदो असारमा काम सम्पन्न हुनेमा आशंका उब्जिएको छ। पुल निर्माणमा भइरहेको ढिलाईका विषयमा प्रतिक्रिया माग्न खोज्दा निर्माण व्यवसायी मल्ल सम्पर्कमा आएनन्। तेस्रो पटक थपिएको म्याद आउदो असार भित्र पनि काम नसकिएमा जरिवाना काट्ने तयारीमा रहेको सडक डिभिजन कार्यालय धनगढीका प्रमुख लक्ष्मीदत्त भट्टले जानकारी दिए।
स्थानीले पुल निर्माणमा भइरहेको ढिलाईका विषयमा नजिकै रहेको प्रदेश सरकार समेत मौन रहेको गुनासो गरेपछि केही महिना पहिले मुख्यमन्त्री त्रिलोचन भट्टले पुलको अनुगमन गरेका थिए। अनुगमनका क्रममा मुख्यमन्त्री भट्टले आउदो जेठ भित्र निर्माण कार्य सक्न निर्माण व्यवसायीलाई आग्रह गरेपनि निर्माण व्यवसायीले भने पूरानै ढिपीले काम गरिरहेका छन्। जसका कारण निर्धारित समयमै पुल निर्माण नहुने निश्चित भएको स्थानीयको बुझाई छ।