गोदावरीको भाइरल ‘पिङ’ अवैध, चर्को शुल्क असुल्दै सञ्चालक
वनको जग्गा मासेर व्यवसाय
धनगढीः कैलालीको गोदावरीमा रहेको भाइरल ‘पिङ’ अवैध रुपमा सञ्चालन गरिएको खुलेको छ। गोदावरी नगरपालिकास्थित वडा नम्बर ४ बासपानीमा रहेको उक्त पिङ अवैध रहेको खुलेको हो।
बासपानीको जंगल क्षेत्रमा जग्गा भाडामा लिएर करिब २५ लाखको लगानीमा आधुनिक पिङ सञ्चालनमा ल्याएको सञ्चालकद्वय पुष्कर जोशी र हिक्मत महराले दाबी गरेका छन्। उनीहरु दुवैले साझेदारीमा पिङ सञ्चालनमा ल्याएको बताए। तर, उनीहरुले दर्ता नगरेरै पिङ चलाइरहेका हुन्।
कुनै पनि व्यापार, व्यवसाय सञ्चालन गर्न अनिवार्य रुपमा सम्बन्धित निकायमा दर्ता गर्नुपर्दछ। तर, गोदावरीको पिङ भने दर्ताबीना नै सञ्चालनमा ल्याइएको छ। सञ्चालक हिक्मत महराले आफूहरु दर्ताको प्रक्रियामै रहेकाले ‘पिङ’ले वैधानिकता पाइनसकेको बताए। उनी भन्छन्, ‘कम्पनी रजिष्टारको कार्यालयमा हामीले दर्ताका लागि प्रोसेस गरेका छौं। लगभग अन्तिम चरणमा प्रक्रिया पुगेको छ। प्रमाणपत्र पाउन एउटा हस्ताक्षर मात्र बाँकी छ।’
भोलि नै काठमाडौं गएर दर्ता गरिसक्ने महराको दाबी छ। यस्तै अर्का सञ्चालक पुष्कर जोशीले पनि पिङ नगरपालिकामा दर्ता नगरिएको र प्रक्रिया थालिएको बताए। लामो प्रक्रिया भएकाले दर्तामा ढिलाइ भएको उनले बताए।
अत्तरियास्थित नेचुरल होटलका मालिक रमेश भट्टराइले आफ्नो दाबी गरेको जग्गा १० वर्षका लागि भाडामा लिने सम्झौता गरेर पिङ सञ्चालन ल्याइएको सञ्चालक महराले दिनेशखबरलाई बताए। ‘जग्गा भाडामा लिएका छौं। दश वर्षका लागि हाम्रो एग्रिमेन्ट भएको हो,’ उनले भने।
राष्ट्रिय वनको जग्गा भाडामा
पिङ सञ्चालकले भाडामा लिएको जग्गा पनि राष्ट्रिय वन अन्तरगत पर्ने देखिएको छ। रमेश भट्टराइले लालपूर्जा नभएको जग्गा आफूहरुलाई भाडामा दिएको पिङ सञ्चालक हिक्मत महराले बताए। उनले भट्टराईबाट आफूहरुले जग्गाको भाडा तिर्ने सम्झौता गरेर व्यवसाय सञ्चालन गरेको बताए।
वन कार्यालय भन्छः कारबाही हुन्छ
यस विषयमा वन कार्यालयसँग बुझ्दा पिङ सञ्चालन गर्दा सञ्चालकहरुले सल्लाह नै नगरेको बताइएको छ। सो जग्गाक्षेत्र राष्ट्रिय वन अन्तरगत पर्ने र यस्तो जग्गा कसैले भाडामा लिन या दिनसमेत नपाइने जनाइएको छ।
सव डिभिजन वन कार्यालय अत्तरियाका प्रमुख निरन्जन कडालले उक्त जग्गा वन अन्तरगत पर्ने भएकाले सञ्चालक र भाडामा दिनेमाथि कारबाही प्रक्रिया थालिने बताए। उनले भोलि नै पत्राचार गरेर सो क्षेत्रमा पिङ सञ्चालनमा रोक लगाउने बताए। यस्तै अन्य क्षेत्रको वन अतिक्रमण हटाउन पनि वन कार्यालय सक्रिय रहेको उनको भनाइ छ।
बीमा पनि छैन
अवैध रुपमा सञ्चालित उक्त पिङको बीमा समेत नगरिएको पाइएको छ। पिङमा जोखिम हुने र केहीँ आकस्मिक घटना, दुर्घटना भएपनि त्यसका लागि बीमा नगरिएको पाइएको हो। बीमा प्रक्रिया पनि प्रक्रियामै रहेको सञ्चालक हिक्मत महराले बताए। चाडै त्यसले पूर्णता पाउने उनको भनाइ छ।
चर्को शुल्क
पिङ सञ्चालकहरुले चर्को शुल्क असुलेको समेत आरोप लागेको छ। त्यहाँ जाने आन्तरिक पर्यटकहरुबाट चर्को मूल्यमा शुल्क लिइरहेको आरोप लागेको हो। अहिले उनीहरुले पिङ खेल्न आउने एक जनाबाट तीन सय र दुई जना भए पाँच सय रुपैयाँ शुल्क उठाइरहेका छन्। सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने गोदावरीको उक्त पिङ खेल्न आन्तरिक पर्यटकहरूको भिडभाड लाग्ने गरेको छ।